अभिनेत्री जेविका कार्की नेपाली फिल्म क्षेत्रमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेकी छन् । म्यूजिक भिडियो हुँदै फिल्म दुनियाँमा प्रवेश गरेकी उनले ‘जय श्री दाम’, ‘कारखाना’, ‘जन्मभूमि’, ‘पर्व’ फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छन् । उनी अहिले नयाँ फिल्म ‘हिजो आजका कुरा’ मा व्यस्त छिन् । बुधबार यो फिल्मको मुहूर्तसँगै औपचारिक रुपमा छायांकन सुरु भएको छ ।
फिल्ममा उनको भूमिका खुलाइएको छैन । तर, उनी फिल्ममा आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताउँछिन् । बरिष्ठ कलाकार सन्तोष पन्तका छोरा साकारले निर्देशन गर्ने फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मालगायतको अभिनय रहने छ । उनीहरुबाट आफूले धेरै कुरा सिक्न पाउनेमा अभिनेत्री जेविका आशावादी छिन् ।
सहायक भूमिकामा सीमित हुँदै आएकी उनी फिल्म ‘जय श्री दाम’ मा सोलो अभिनेत्रीको रुपमा थिइन् । तर, यो फिल्म हलमा लागेको र उत्रिएकै दर्शकलाई थाहा भएन । नेपाली फिल्म क्षेत्रमा आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न उनलाई सोलो अभिनेत्रीको रुपमा एउटा हिट फिल्मको आवश्यकता छ । तर, उनलाई सोलो नायिकामा लिन मेकरले हिम्मतै गर्न सकेका छैनन् ।
फिल्म ‘हिजो आजका कुरा’ ले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउने जेविकाको विश्वास छ । यो फिल्म बक्सअफिसमा सफल भएको खण्डमा उनको आगामी बाटो केही सहज बन्न सक्छ । तर, फिल्ममा नाम चलेका कलाकारहरुको ठूलो भीड भएका कारण उनी ‘नोटिस’ हुनेमा शंका उब्जिएको छ । यद्यपि, उनले अभिनयमा मेहेनत गरेको खण्डमा दर्शकमाझ चिनिन सक्छिन् ।
बुधबार पशुपतिनाथ मन्दिरमा भएको ‘हिजो आजका कुरा’ को मुहूर्तमा अभिनेत्री जेविका पहेँलो वान पिसको बाहिर कालो रंगको लामो ज्याकेटमा ठाटिएर पुगेकी थिइन् । उक्त पहिरनमा उनी निकै सुन्दर देखिएकी थिइन् । मिडियाकर्मीको आग्रहमा उनले आफ्नै स्टाइलमा केही तश्विर खिचाइन् । फिल्मीखबरका फोटोग्राफर विवेक बस्यालको क्यामेरामा कैद भएकी जेविका कस्ती देखिएकी छन् त ?

