
बलिउड अभिनेत्री सन्नी लियोनले ठुम्का लगाएका कारण चर्चामा रहेको नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनीले अब फिल्म वितरणमा हात हालेको छ । ए.वि इन्टरनेशनल प्रा.लिले नेपाली र हिन्दी फिल्म नेपाल र विदेशमा वितरण गर्न लागेको हो । निर्माण कम्पनीले बुधबार एक विज्ञप्तीमार्फत् यस विषयमा जानकारी गराएको हो ।
‘नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा ए.वी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने भएको छ’, कम्पनीका प्रबन्ध निर्देशक अजित केआर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘यसै शुक्रबार बलिउड फिल्म ‘मरजावा’ नेपालमा वितरणको जिम्मा लिएर औपचारिक रुपमा वितरकका रुपमा समेत पाइला चलेका छौं ।’
ए.वी इन्टरनेशनलले वर्षमा दुईवटा फिल्म निर्माण गर्ने पनि विज्ञप्तीमा भनिएको छ । यो कम्पनीले निर्माण गरेको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ । यो फिल्म यसै वर्ष प्रदर्शन आउने बताइएको छ ।
वर्षमा दुईवटा स्तरीय फिल्म निर्माण गर्ने र ती फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्नु कम्पनीको उद्येश्य रहेको विज्ञप्तीमा उल्लेख छ । नेपाली फिल्मको विकासका लागि चालेको यो कदममा फिल्मकर्मीबाट साथ र सहयोग मिल्नेमा कम्पनीको विश्वास छ । ए.वी इन्टरनेशनलले चाँडै अभिनेत्री सन्नी लियोनीलाई लिएर बलिउड फिल्म बनाउँदैछ ।

