Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनलाई ‘च च हुई’ को आश

फिल्मीखबर, काठमाडौं, 2019/11/13
दशक अगाडि नेपाली फिल्ममा अभिनेता आर्यन सिग्देलले ठूलो साम्राज्य बनाएका थिए । लभस्टोरी फिल्ममा उनी पहिलो रोजाइमा पर्थे । उनलाई लिएपछि फिल्मले प्रदर्शन अगावै लगाउने उठाउने विश्वास मेकरमा थियो । तर, समय सधैं एकनाश कहाँ हुन्छ र ! कुनै समय उनको फिल्म भनेपछि हलको टिकट काउन्टरमा लाग्ने दर्शकको अपत्यारिलो भीड आजभोली अनमोल केसी र प्रदीप खड्काको पछाडि दौडिएको छ । 
 
 
करिअरको उत्कर्षमा रहँदा फिल्म छनोटमा गरेको गल्ती अहिले आर्यन फुर्सदमा पछुताइरहेका छन् । गुणस्तरलाई बेवास्था गरेर संख्यात्मक अभिनयमा जोड दिँदा उनी जुन गतिमा उकालो चढे, त्यही गतिमा ओर्लिए । पछिल्लो केही वर्षयता उनका हरेक फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिएका छन् । उनी आफैंले बनाएको फिल्म  ‘कायरा’ ले समेत डुब्न लागेको करिअरको ढुंगालाई किनारा लगाउन सकेन । 
 
उनको पछिल्लो रिलिज फिल्म हो, ‘हजार जुनीसम्म’ । यो फिल्मबाट उनी आफ्नो खस्किएको स्टारडम पुनः उत्कर्षमा पुग्नेमा आशावादी थिए । रिलिजपूर्व फिल्मको चर्चा पनि गजब थियो । यस्तो लाग्थ्यो, यसले बक्सअफिसमा धूम मच्चाउनेछ । तर, फिल्मलाई रिलिजको दिनदेखि नै दर्शकको खडेरी लाग्यो । यो फिल्मको असफलताले हच्किएका उनी पुनः दर्शकसँग साक्षात्कार गर्न आउँदैछन्, आउँदो मंसिर ६ गते । 
 
साम्तेन भुटिया निर्देशित ‘च च हुई’ मा उनको प्रमुख भूमिका छ । फिल्ममा उनी  ‘प्रेम’ को भूमिकामा छन्, जो हङकङ रिर्टन्स हो । उनको प्रेमिकाको भूमिकामा अभिनेत्री मिरुना मगर छिन् । फिल्ममा आर्यनको साथीको भूमिकामा कलाकार भोलाराज सापकोटा छन् । रोमान्टिक-कमेडी जनरामा निर्माण भएको यो फिल्मबाट अभिनेता आर्यन निकै आशावादी छन् । फिल्मको ट्रेलर र गीतसंगीत सार्वजनिक भैसकेको छ । 
 
 
‘च च हुई’ आफ्नो करिअरको लागि सञ्जीवनी बुटी साबित हुनेमा अभिनेता आर्यन सिग्देल विश्वस्त छन् । यो फिल्मले बक्सअफिसमा नाफाको व्यापार गर्न सफल भएको खण्डमा उनको फेरि नेपाली फिल्ममा रजगज सुरु हुने तय छ । अभिनयमा पारंगत मानिने यी चकलेटी अभिनेता ‘च च हुई’ लाई लिएर निकै उत्साहित छन् । फिल्ममा उनको रोमान्टिक र कमेडी अन्दाज देख्न पाइनेछ । धेरैपछि उनको कमेडी अवतार दर्शकले हेर्न पाउँदैछन् । 
Most Visited News (monthly)