म्यूजिक भिडियोबाट राम्रो फ्यान फलोइंग बनाएका अभिनेता पुष्प खड्का अहिले नेपाली फिल्मका विकाउ अनुहारमध्ये एक हुन् । फिल्म ‘अझै पनि’ बाट अभिनयबाट डेब्यू गरेका उनले भेट्रान निर्देशक तुलसी घिमिरेको ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को दोस्रो श्रृंखलाबाट लिड रोलमा डेब्यू गरेका थिए । तर, दुबै फिल्म बक्सअफिसमा डिजास्टर सावित भए । जसले, पुष्पको करिअरमा ठूलो धक्का पुग्यो ।
यसबीच, उनलाई बाघ निर्माता भनिने छविराज ओझाको फिल्म ‘मंगलम’ हात पर्यो । पारिवारिक फिल्म बनाउन खप्पिस मानिने नवल नेपाल निर्देशित यो फिल्मले उनलाई एकाएक लाइमलाइटमा ल्यायो । साथै, उनले आफूलाई जीवन्त अभिनय गर्ने कलाकारको रुपमा चिनाए । फिल्ममा उनले पक्षाघात भएको एक युवकको भूमिका निभाएका थिए । उनको श्रीमतीको भूमिकामा शिल्पा पोखरेल थिइन् ।
यो फिल्मबाट उनले जुरीतर्फबाट उत्कृष्ट अभिनेताको थुप्रै अवार्ड जिते । भने, राष्ट्रपतिको हातबाट उत्कृष्ट अभिनेताको 'राष्ट्रिय अवार्ड' अवार्ड पनि चुमे । यसलाई उनको करिअरको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ । यसबीच, उनको चौथो फिल्म ‘दाल भात तरकारी’ गएको बैशाखमा प्रदर्शन भयो । तर, ‘मंगलम’ मा मनछुने अभिनयले दर्शकको मन जितेका पुष्पले यो फिल्मबाट दर्शक र समीक्षक दुबैलाई निराश बनाए ।
(1)(1).jpg)
हुन त फिल्मले नै आलोचना खेप्नु परेको थियो । यद्यपि, फिल्मले घरेलु बजारबाट लगानी भने उठायो । यो फिल्मपछि गएको भदौमा उनको पाँचौ फिल्म ‘मारुनी’ ले दर्शकसँग साक्षात्कार गरेको थियो । अभिनेत्रीमा अहिलेकी हटकेक साम्राज्ञी आरएल शाहको अभिनय रहेका कारण फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने अनुमान गरिएको थियो । तर, यो फिल्मले राम्रो समीक्षाका बाबजूद पनि हलमा दर्शक तान्न सकेन ।
‘मारुनी’ मा पुष्पको अभिनयको पनि वाहवाही भएन । बरु, अभिनय खस्किएको भन्दै चर्को आलोचना भयो । एकातिर फिल्म नचल्नु र अर्कोतिर अभिनयको आलोचन हुनु, अभिनेता पुष्प निराश भए । यो फिल्मपछि उनले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । कतिपयले उनलाई फिल्म नै अफर हुन छाडेकोसम्म भन्न भ्याएका छन् । तर, पुष्प फिल्मको अफर आइरहे पनि स्क्रिप्ट चित्त नबुझेकाले साइन नगरेको बताउँछन् ।
फिल्मीखबरसँग फोनमा कानीकानी गर्दै उनले आफूलाई अब एक्सन फिल्म गर्ने इच्छा रहेको बताए । उनले भने, ‘म पहिला कराँते खेलाडी थिएँ । त्यसैले पनि पहिलादेखि नै मलाई एक्सन फिल्म गर्न मन थियो । तर, दर्शकले मलाई लभस्टोरी फिल्ममा रुचाउनुभएको छ । अब, एक्सन फिल्म गर्दा दर्शकले नरुचाउनुहोला कि भन्ने डर पनि छ । यद्यपि, अफर आयो भने एक्सन फिल्म गर्छु । एकपटक एक्सपेरिमेन्ट गरौंन ।’
अहिले दर्शकले एक्सन फिल्म हेर्न खोजिरहेको उनको भनाई छ । ‘आजभोली लभस्टोरी र कमेडी फिल्ममात्र बनिरहेका छन् । एक्सन फिल्म बन्नै कम भएको छ । दर्शक अहिले एक्सन फिल्म हेर्न नपाएर भोकाउनुभएको छ । राम्रो स्क्रिप्टबाट अफर आयो भने एक्सन फिल्म गर्न इच्छुक छु’, पुष्प सुनिए । उनी वर्षमा एक वा दुईभन्दा बढी फिल्म गर्ने मनस्थितिमा छैनन् । उनले भिडियो गर्न पनि निकै कम गरेका छन् ।

