रिलिजपूर्व निकै चर्चामा रहेको फिल्म हो, ‘घामड शेरे’ । पहिलो पटक अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अनस्क्रिन रोमान्स गरेका कारण दर्शकमाझ यो फिल्मको व्यग्र प्रतिक्षा थियो । साथै, ‘साली मन पर्यो’ बोलको गीतले फिल्मको राम्रो हाइप निर्माण गरेको थियो । तर, शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले अपेक्षाकृत ओपनिङ गर्न असफल भएको छ ।
‘घामड शेरे’ ले प्रदर्शनका लागि कात्तिक ८ राजेको थियो । तर, बलिउड फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्समा कम सोज पाएपछि फिल्म दुई हप्ता पछाडि सर्यो । घोषित मितिबाट पछाडि सरेका फिल्मले बक्सअफिसमा गतिलो व्यापार गरेका निकै कम उदाहरण छन् । ‘घामड शेरे’ को ओपनिङ अपेक्षाकृत नहुनुमा रिलिज फेरबदल मुख्य कारण मानिएको छ ।
.jpg)
आइतबार साँझ जय नेपाल हलमा फिल्मको ‘स्पेशल शो’ राखिएको थियो । फिल्म हेर्न दीपाश्री निरौला, केकी अधिकारीलगायत पुगेका थिए । सबैले फिल्मको कथावस्तु, कलाकारको अभिनय र निर्देशकको कामको मुक्तकण्ठले प्रशंसा गरे । तर, निर्देशक हेमराज विसीको अनुहारमा भने खासै खुसी देखिएको थिएन । फिल्मको कमजोर ओपनिङले उनी निराश देखिन्थे ।
‘स्पेशल शो’ मा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘हामीले सोचेको जस्तो ओपनिङ हुन सकेन । सायद हामीले ठूलो अपेक्षा राखेर पनि हुनसक्छ । अझ राम्रो गर्न सक्छ भन्ने लागेको थियो । तर, जस्तो खालको ‘वर्ड अफ माउथ’ आएको छ त्यसले खुसी भने तुल्याएको छ ।’ फिल्मको ओपनिङ राम्रो हुन नसक्नुमा अन्तिम समयमा प्रदर्शन मिति फेर्नु पनि रहेको उनी बताउँछन् ।
‘वर्ड अफ माउथ’ राम्रो भएका कारण हलमा दर्शक बढ्ने अपेक्षा उनको छ । आउँदो दुई हप्ता कुनै ठूलो फिल्म नभएका कारण त्यसको फाइदा फिल्मले उठाउनेमा उनी विश्वास छन् । विदेशमा कमाएको पैसाले गाउँमा किनेको खेत खोलाले बगाएपछि ‘शेरे’ पात्रले गर्ने संघर्षको कथामा फिल्म आधारित छ । फिल्ममा निश्चल र स्वस्तिमाले भेना र सालीको भूमिका निभाएका छन् ।

