नेपालमा पिरियड ड्रामा फिल्म निकै कम बनेका छन् । बनेका फिल्म पनि न राम्रो चलेका छन् न त दर्शकलाई रिझाएका छन् । लगानी ठूलो लाग्ने हुँदा नेपालमा यस प्रकारका फिल्म बनाउने आँट मेकरले गर्दैनन् । पछिल्लो समय बलिउडमा भने पिरियड ड्रामा फिल्मको लहड नै चलेको छ । यसबीच, आउँदो चैत २८ गते फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनमा आउँदैछ । यो पिरियड ड्रामा फिल्म हो । शुक्रबारबाट फिल्मको छायांकन सुरु भएको छ ।
छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गर्ने फिल्ममा युवास्टार प्रदीप खड्काले ‘प्रेम’ को भूमिका निभाउँदैछन् । फिल्ममा उनको अपोजिटमा क्रिस्टिना गुरुङले अभिनय गर्दैछिन् । २ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

मनाङको स्ट्रक्चरलाई काठमाडौंको कीर्तिपुरमा भव्य सेट बनाएर छायांकन भइरहेको फिल्मको काठमाडौंमा ४५ र मनाङमा ५५ प्रतिशत छायांकन हुने बताइएको छ । फिल्मको सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा छायांकनका लागि मुस्ताङबाट मगाइएको घोडामा हुने निर्माता सन्तोष सेन बताउँछन् । ५५ दिने सेड्युलमा फिल्मको निर्माण लागत ३ करोडमाथि हुने निर्माण टिमको अनुमान छ ।
छायांकनमा जानुपूर्व निर्माण टिमले फिल्मको मोसन टिजर सार्वजनिक गरेको थियो । जसमा फिल्मका प्रमुख अभिनेता प्रदीप खड्का योद्धा अवतारमा प्रस्तुत छन् । मोसन पोस्टरमा उनी हातमा तरवार बोकेर घोडामा सवार छन् । भने, रगतले लतपतिएको अनुहारमा देख्न सकिन्छ । पोस्टरले नै दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गरेको छ । युट्युब रिलिजको तीन दिनमा यसलाई साढे चार लाख बढीले हेरिसकेका छन् ।
पन्ध्र हजार लाइक्स मिलेको मोसन टिजरलाई युट्युबको पब्लिक कमेन्टमा १३ सय बढीले आफ्नो प्रतिक्रिया जनाएका छन् । अधिकांशले फिल्मको टिजर पोस्टर ‘बाहुबली’ भन्दा कम नभएको बताएका छन् । रुषा परियारले लेखेकी छन्, ‘नेपाली ‘बाहुबली’ भन्दा फरक पर्दैन होला सायद ।’ डम्बर कार्कीले पनि मोसन पोस्टर हेरेपछि फिल्मलाई ‘बाहुबली’ सँग दाँजेका छन् । उनले ‘प्रेमगीत ३’ ‘बाहुबली’ भन्दा कम नहुने विश्वास व्यक्त गरेका छन् ।
अम्बिका बस्नेत पनि फिल्म ‘बाहुबली’ जस्तै हुनेमा विश्वस्त रहेछिन् । त्यस्तै, अभिनेता प्रदीपको योद्धा अवतारलाई पनि उतिक्कै मन पराइएको छ । युट्युब प्रयोगकर्ता हिमाल सनगमले प्रदीपको लुक्स जबरजस्त रहेको भन्दै मोसन टिजरको तारिफ गरेका छन् । सन्ध्या राईले प्रदीपको लुक्स हेरेपछि आफू फिल्म हेर्न आतुर रहेको बताएकी छन् । प्रायःले ‘प्रेमगीत ३’ ले नेपाली फिल्म क्षेत्रको उचाई बढाउने विश्वास व्यक्त गरेका छन् ।
मोसन टिजरलाई प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिम निकै हौसिएको छ । निर्माता तथा निर्देशक सेनले दर्शकको अपेक्षामाथि खरो उत्रने प्रयास गर्ने बताए । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने उनको दाबी छ । पुराना अभिनेता शिव श्रेष्ठले फिल्ममा राजाको भूमिका निभाउँदैछन् । प्रदीप र मनिषले उनको छोराको भूमिका निभाउँदैछन् । भने, प्रदीपको बाल्यकालको भूमिकामा अनुभव देखिनेछन् ।
मोसन टिजर हेर्नुहोस् :-

