नेपाली आमाकी छोरी सुनिता अहुजासँग विवाह गरेपछि बलिउड सुपरस्टार गोविन्दाका लागि नेपाल पानी-पधेँरोझैँ भएको छ । उनी थुप्रैपटक नेपाल आइसकेका छन् । विशेषगरि पशुपतिनाथको दर्शनका लागि नेपाल आउने गरेको बताउने उनी गएको मंगलबारदेखि नेपालमा छन् । चलचित्र निर्माता संघको आयोजनामा कात्तिक २१ गतेबाट वीरगञ्जमा सुरु भएको ‘नेपाल स्वर्णिम चलचित्र महोत्सव’ मा सहभागी हुन उनी नेपाल आएका हुन् ।
गएको वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका उनले बिहीबार साँझ वीरगञ्जमा आफू अभिनीत फिल्मका चर्चित केही गीतमा ठुम्का लगाए । उनलाई नेपाली अभिनेत्रीहरु दीपाश्री निरौला, वर्षा सिवाकोटी, श्वेता खड्का र निरुता सिंहले साथ दिएका थिए । गोविन्दाले नृत्य गर्नु अगाडि नेपाली दर्शकलाई सम्बोधन गर्दै नेपालीले आफूलाई गरेको प्रेमप्रति आभार व्यक्त गरे । उनले पुनः ससुराली देश आउन पाउँदा खुसी लागेको बताए ।

महोत्सवमा उनलाई हेर्नका लागि हजारौंको भीड उर्लिएको थियो । डेढ सयभन्दा बढीको संख्यामा महोत्सवमा सहभागी हुन काठमाडौंबाट वीरगञ्ज पुगेका नेपाली कलाकारहरु पनि गोविन्दालाई प्रत्यक्ष हेर्न पाउँदा दंग देखिन्थे । त्यस्तै, महोत्सवमा सहभागी हुन पुगेका कलाकारहरुले उनीसँग खिचेको तस्विर अहिले सामाजिक सञ्जाल जताततै छाएको छ । यस्तो लाग्छ, नेपाली कलाकारलाई गोविन्दासँग फोटो खिचाउनकै लागि महोत्सव गरिएको हो !
भुवन केसी, सन्दिप क्षेत्री, दीपाश्री निरौला, विराज भट्ट, साम्राज्ञी आरएल शाह, दीपकराज गिरीलगायत थुप्रै नाम चलेका नेपाली कलाकारले उनीसँग खिचाएको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेका छन् । उनीसँग तश्विर खिचाउन नेपाली कलाकारबीच ‘डाइहार्ट फ्यान’ ले गर्ने हानाथापभन्दा कम नदेखिएको वीरगञ्ज पुगेका एक पत्रकारले फिल्मीखबरलाई बताए । नेपाली कलाकारसँगै फोटो खिचाएर नभ्याएका गोविन्दाले आफ्ना फ्यानसँग त हात मिलाउनै पाएनन् ।
एक समय बलिउडमा एकछत्र राज गरेका अभिनेता हुन्, गोविन्दा । उनका फिल्मले नेपालमा पनि राम्रो पैसा छाप्ने गरेका थिए । अभिनय र नृत्यमा पोख्त मानिने उनको नेपालमा अझै पनि लोभलाग्दो क्रेज छ । विशेषगरि सिमावर्ती क्षेत्रमा । त्यसैले ‘नेपाल स्वर्णिम चलचित्र महोत्सव’ मा उनलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको थियो । तर, वीरगञ्जमा दर्शकभन्दा उनको क्रेज नेपाली कलाकारमा देखिएको छ । गोविन्दा त दंगै भए होलान् !

