युवापुस्तामाझ निकै लोकप्रिय अभिनेता अनमोल केसी पछिल्लो पटक फिल्म ‘ए मेरो हजुर ३’ मा देखिएका थिए । यो फिल्मको सफलतापछि उनी आफ्नै होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ को तयारीमा जुटे । तर, स्क्रिप्टमा केही समय लाग्ने भएपछि उनले साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ साइन गरे, ५० लाख पारिश्रमिकमा । छायांकन सुरु भएपछि २० लाख दिने सर्तमा फिल्म साइन गर्दा उनलाई निर्माताले साइनिङ एमाउन्ट स्वरुप ३० लाखको चेक दिए ।
फिल्ममा अनुबन्ध भएपछि अनमोलले कथावस्तु निकै राम्रो रहेको र आफूले जुवाडेको भूमिका निर्वाहा गर्न लागेको जानकारी दिएका थिए । फिल्ममा आबद्ध भएपछि दिलोज्यान दिने उनी केही दिन छायांकन स्थल खोज्न निर्देशकलाई बाइकमा राखेर धेरै ठाउँ डुबे । दिनहुँ वर्कसपमा घण्टौं समय विताए । फिल्मकै लागि शरीर बनाउन जिममा घण्टौं बेथित गरे । निर्माण टिम पनि अहिलेको ‘हटकेक अभिनेता’ ले फिल्मको लागि गरेको मेहेनतबाट दंग थियो ।
तर, बुधबार दिउँसो अकास्मात अनमोलले ‘धुपौरे’ बाट हात झिकेको खबर फैलियो । स्क्रिप्ट चित्त नबुझेपछि उनले फिल्म छाडेको चर्चा छ । तर, निर्देशक साम्तेन भुटिया र निर्माता जयन श्रेष्ठ बजारको हल्ला निराधार रहेको दाबी गर्छन् । निर्देशक भुटियाले फिल्मीखबरसँग कुराकानी गर्दै भने, ‘अहिले हामी फिल्मकै काममा व्यस्त छौं । सम्पूर्ण तयारी पूरा भएपछि फ्लोरमा निस्कन्छौं । अनमोलले फिल्म छाडेको खबरले हामी आफैं अचम्मित भएका छौं ।’
(2)(1).jpg)
‘धुपौरे’ छाडेको चर्चाबारे बुझ्न खोज्दा अभिनेता अनमोल केसीको भने फोन उठेन । हुन त आफूलाई आवश्यक पर्दा मात्र पत्रकार खोज्ने अभिनेता हुन्, उनी । फिल्म गर्ने वा नगर्ने विषयमा उनीबाट आधिकारिक धारणा नभएसम्म निर्देशक भुटियाको भनाईमा विश्वास गर्नुको अर्को विकल्प छैन । तर, अनमोल यस विषयमा मौन बस्नुले ‘धुपौरे’ को निर्माण अन्योलतर्फ धकेलिएको अड्कल काट्न भने सकिन्छ । नभए, फिल्म छाडेको ‘होइन’ भन्न के गाह्रो !
फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, स्क्रिप्ट र सुटिङमा जान निर्माण टिमले गरेको हतारोका कारण अनमोलले फिल्म छाडेका हुन् । फिल्म साइन गर्दा निर्देशक र निर्माताले अनमोललाई ७ महिना ट्रेनिङ गराउने सर्त गरेका थिए । तर, २ महिनामा नै निर्माण टिमले सुटिङमा जानका लागि दबाब दिन थालेपछि अनमोलले फिल्मबाट हात झिकेको स्रोत बताउँछ । केही दिनमा उनले निर्मातालाई साइनिङ एमाउन्ट फिर्ता गर्ने जानकारी प्राप्त छ ।
केही हप्तायता निर्माण टिम अभिनेत्रीको खोजीमा थियो । त्यसका लागि अडिसन पनि आह्वान गरिएको थियो । तर, अहिलेसम्म अभिनेत्रीको टुंगो लाग्न सकेको छैन । फिल्ममा अभिनेता प्रमोद अग्रहरी भने अनुबन्ध भइसकेका छन् । मंसिर दोस्रो हप्ताबाट ‘धुपौरे’ को छायांकन गर्ने तयारी निर्माण टिमले गरेको थियो । तर, अनमोल बाहिरिएको चर्चासँगै फिल्म बन्ने वा नबन्नेमा अन्योलता छाएको छ । यसअघि अनमोलले साइन गरेको फिल्म ‘ब्याचलर बन्टी’ पनि छाडेका थिए ।

