.jpg)
बलिउड सुपरस्टार अक्षय कुमार र वासु भगनानीबीच एकपटक फेरि सहकार्य हुने भएको छ । यो फिल्मका लागि उनले पारिश्रमिक स्वरुप सय करोड मागेको चर्चा छ । अक्षय, वासु र एमी इन्टरटेन्मेन्टका निखिल आडवाणीबीच यो प्रोजेक्टमा टाइअप हुन लागेको हो । रञ्जीत तिवारीले फिल्मको निर्देशन गर्नेछन् । यसअघि उनले फिल्म ‘लखनऊ सेन्ट्रल’ को निर्देशन गरेका थिए ।
यो एक हार्ड कोर एक्सन ड्रामा फिल्म हुनेछ र यो एक रियल लाइफ घटनाबाट प्रेरित हुने बताइएको छ । अक्षयले पछिल्लो समय एकपछि अर्को ब्लकबस्टर फिल्म दिइरहेका कारण यो फिल्ममा उनलाई सय करोड पारिश्रमिक तिर्न मेकरले कुनै आपत्ति जनाएका छैनन् । फिल्मको प्रायः छायांकन लण्डनमा हुनेछ । अक्षय र वासुबीच यसअघि ‘एयरलिफ्ट’ मा सहकार्य भएको थियो ।
अहिले वासु डेविड धवनको फिल्म ‘कुली नं १’ कोे रिमेक निर्माण गर्दैछन् । जसमा वरुण धवन र सारा अली खान प्रमुख भूमिकामा देखिँदैछन् । त्यस्तै, अर्का निर्माता निखिलले पछिल्लो वर्ष ‘सत्यमेव जयते’ निर्माण गरेका थिए । जसले बक्सअफिसमा सय करोडभन्दा बढी छापेको थियो । यस वर्ष उनी निर्मित तथा जोन अब्राहम अभिनीत फिल्म ‘बाटला हाउस’ प्रदर्शन भएको थियो ।
अक्षय कुमारको कुरा गर्ने हो भने उनी अहिलेका सवाधिक व्यस्त अभिनेता हुन् । र, महंगा पनि । हाल उनी अभिनीत फिल्म ‘हाउसफुल ४’ प्रदर्शन भइसकेको छ । यो फिल्मले बक्सअफिसमा सय करोडभन्दा बढी कमाइसकेको छ । उनको आउँदो इदमा फिल्म ‘लक्ष्मी बम्ब’ रिलिज हुँदैछ । वासुको फिल्म गर्न सय करोड पारिश्रमिक बुझेको खबरलाई अक्षयले कन्फर्म गरेका छैनन् ।

