Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

शिवरात्रीमा चार फिल्मबीच हुँदैछ महाभिडन्त

फिल्मीखबर, काठमाडौं, 2019/11/06
चाड पर्वको विदामा नेपाली फिल्मबीच ठूलो भिडन्त हुने गरेको छ । विदामा आउँदा लगानी उठाउन सहज हुने भएकाले मेकरहरुले फिल्म प्रदर्शनका लागि चाड पर्व रोज्ने गरेका छन् । विशेषगरि, दशैं, तिहार र नयाँ वर्षमा फिल्म प्रदर्शन गर्न निर्माताबीच हानाथाप हुने गर्दछ । शिवरात्री पनि फिल्म प्रदर्शनका लागि उपयुक्त समय मानिन्छ । हरेक वर्षको शिवरात्रीमा नेपाली फिल्मबीच घमासान भिडन्तको श्रृंखला टुटेको छैन । 
 
यो शिलशिला यस वर्ष पनि कायम हुने देखिएको छ । अहिलेसम्म महाशिवरात्रीको विदा छोप्दै चार फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । सबैभन्दा अगाडि ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको फिल्म ‘आमा’ ले फागुन ९ गतेको डेट लक गरेको थियो । यसपछि, मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले पनि शिवरात्रीमा आउने निधो गर्‍यो । यो फिल्मको अहिले अष्ट्रेलियामा छायांकन भइरहेको छ । 
 
 
त्यस्तै, अभिनेता विराज भट्ट निर्मित, अभिनीत तथा निर्देशित फिल्म ‘साङ्लो’ ले गएको महिना फस्टलुक पोस्टर सार्र्वजनिक गर्दै फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गर्‍यो । यो मितिमा फेरि एउटा ठूलो फिल्म थपिएको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको रामबाबु गुरुङ निर्देशित कमेडी फिल्म ‘सेन्टी भाइरस’ ले हालै फस्टलुक पोस्टर सार्वजनिक गर्दै शिवरात्रीमा प्रदर्शन गर्ने निधो गरेको छ ।
 
यो फिल्म शिवरात्रीमा आउने भएपछि ‘साङ्लो’, ‘आमा’ र ‘लप्पन छप्पन २’ को रिलिज डेट पोस्टपोन्ड हुनसक्ने अड्कलबाजी सुरु भएको छ । दर्शकको विश्वास जित्न सफल ‘धुर्मुस सुन्तली’ को अभिनय रहेका कारण ‘सेन्टी भाइरस’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । तर, प्रदर्शन अगावै फिल्मको नतिजालाई लिएर भविष्यवाणी गर्नु गलत हुनसक्छ । किनकि, आश गरिएका फिल्मले घुँडा टेकेका उदाहरण यहाँ धेरै छन् । 
 
‘सेन्टी भाइरस’ का कारण ‘साङ्लो’, ‘आमा’ र ‘लप्पन छप्पन २’ को इनिसियल बक्सअफिसमा ठूलो असर पुग्ने विश्लेषण कतिपयको छ । तर, फागुन ९ गते शुक्रबार शिवरात्रीको सार्वजनिक विदा भएका कारण कुनै फिल्म घोषित मितिबाट पछाडि हट्ने तरखरमा देखिएका छैनन् । फागुन ९ बाट चारै फिल्म नडगमगाए यस वर्षको महाशिवरात्रीमा नेपाली फिल्मबीच महाभिडन्त हेर्न निकै रोचक हुने देखिन्छ । जित पो कसको होला कुन्नी !
Most Visited News (monthly)