.jpg)
र्यापर समिर घिसिङ ‘भिटेन’ युवा पुस्तामाझ निकै चर्चित छन् । ‘गरिब’ गीतबाट आफ्नो र्याप यात्रा थालेका उनको फ्यान फलोइंग अहिलेका चल्तीका कुनै अभिनेताको भन्दा कम छैन । अरूभन्दा फरक गायन शैलीका भिटेनका प्रशंसकसँगै आलोचक पनि उत्तिकै छन् । ‘हामी यस्तै त होनी ब्रो’ गीतमा अश्लील शब्द प्रयोग गरेको भन्दै उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।
उनै गायकले पहिलो पटक नेपाली फिल्मको गीत गाएका छन् । आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री सुमी मोक्तान स्टारर एक्सन प्रधान फिल्म ‘सरौतो’ को प्रमोसनल गीतमा उनले आवाज दिएका छन् । गीतमा भिटेन स्वयंको स्वर, शब्द तथा संगीत छ । फिल्मको टीजर राम्रो लागेपछि उनले गीत तयार गरेका हुन् । गीतमा उनी स्वयं देखिनेछन् ।
उनीसँगै गीतमा फिल्मका प्रमुख कलाकार विजय लामा र अभिनेत्री सुमी पनि देखिँदैछन् । तिहारको छेकोमा छायांकन गरिएको फिल्मको प्रमोसनल गीत यही शुक्रबार सार्वजनिक गर्ने तरखरमा निर्माण टिम छ । गीतमा गायक भिटेन केही अलग अन्दाजमा प्रस्तुत हुने निर्देशक हरि हुमागाईंले बताए । यो गीतले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ ।
‘सरौतो’ मा सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । निर्देशक हुमागाईंले यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । उत्तम हुमागाईंले फिल्म खिचेका हुन् ।

