Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमालाई दबाब, ‘मलाई नम्बर वान हिरो हुनु छैनँ’ : निश्चल

फिल्मीखबर, काठमाण्डौ, 2019/11/05
पहिलो पटक निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अनस्क्रिन रोमान्स गरेको फिल्म हो, ‘घामड शेरे’ । यसअघि दुईले फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतमा ठुम्का लगाएका थिए । तर, यो फिल्ममा स्वस्तिमाको अभिनय थिएन । धेरै मेकरले यी दुईलाई लिएर फिल्म बनाउने प्रयास नगरेका होइनन् । तर, कोही सफल भएनन । निर्देशक हेमराज विसी भने रियल जोडीलाई पर्दामा उतार्न सफल भएका छन् । 
 
 
यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । सुर्खेतको पृष्ठभूमिमा बुनिएको कथामा श्रीमती हुँदा-हुँदै निश्चलको सालीप्रतिको प्रेमलाई फिल्ममा देखाइएको छ । खोलाले खेत बगाएर लगेपछि खोलालाई नै मुद्धा हाल्न लागेको एक घामड पात्रको कथामा फिल्म आधारित छ । फिल्मको मूलकथा निश्चलको वरिपरि घुमेको छ । सुष्मा निरौलाले उनको श्रीमतीको भूमिका निभाएकी छन् । 
 
आफूले यसअघि गरेका भूमिकाभन्दा भिन्न लागेका कारण ‘घामड शेरे’ मा काम गर्न राजी भएको अभिनेत्री स्वस्तिमाको भनाई छ । उनी भन्छिन्, ‘धेरैले म र निश्चल फिल्ममा प्रेमी-प्रेमिका वा श्रीमान्-श्रीमतीको भूमिकामा होलान् भन्ने सोचेका थिए । तर, ट्रेलर सार्वजनिक भएपछि धेरै सरप्राइज भए । मलाई पनि स्क्रिप्ट पढ्दा रमाइलो हुन्छ भन्ने लागेरै फिल्म गरेको हुँ ।’ पर्दामा श्रीमान् निश्चलको सालीको भूमिका निर्वाहा गर्न कुनै असहज नभएको उनको अनुभव छ । 
 
 
उनलाई लाग्छ गत वर्ष प्रदर्शनमा आएको ‘नेसनल अवार्ड विनर’ फिल्म ‘बुलबुल’ पछि आफूमाथि धेरै ठूलो चुनौती र जिम्मेवारी थपिएको छ । ‘बुलबुल’ सँग ‘घामड शेरे’ मा निभाएको चरित्र दाँज्नु नै गलत हुने बताउँदै उनले भनिन्, ‘दुबै फिल्ममा मेरो चरित्र विल्कुलै अलग छ । फिल्म नै पूरै फरक छ । तर, ‘बुलबुल’ पछि ममाथि जिम्मेवारी थपिएको छ भन्ने चाहिँ लाग्छ ।’ दर्शकको अपेक्षा आफूमथि निकै बढेका कारण दबाब महशुस हुने उनको भनाई छ । 
 
निर्देशकबाट अब हिरो बन्ने दौडमा रहेका निश्चल पहिलो पटक ‘घामड शेरे’ बाट मुख्य नायकको रुपमा आउँदैछन् । ‘लुट’ बाट आफूलाई कुशल निर्देशकको रुपमा स्थापित गरेका उनलाई ‘घामड शेरे’ ले हिरोको रुपमा स्थापित गर्छ भन्ने लाग्छ ?  यो प्रश्नमा उनको जवाफ भिन्न आउँछ । उनी आफू कुनै विधामा स्थापित हुन फिल्ममा प्रवेश नगरेको बताउँछन् । ‘न म निर्देशकको रुपमा स्थापित हुन आएको थिएँ न त हिरोको रुपमा आउन लागेको हुँ’, उनले भने । 
 
 
आफूमा न नम्बर वान हिरो न त नम्बर वान निर्देशक बन्ने सोच भएको उनको भनाई छ । निश्चल अगाडि भन्छन्, ‘म कर्ममा विश्वास गर्छु । काम राम्रो गरेँ भने दर्शकले मन पराउँछन् भन्ने मलाई विश्वास छ । त्यसैले म इमान्दारपूर्वक काम गर्छु । कुनै विधामा स्थापित हुने सोच छैन ।’ उनले आफूले अभिनय गर्ने र बनाउने फिल्म फरक फरक हुने प्रतिवद्धता पनि व्यक्त गरे । उनी ‘घामड शेरे’ गर्न राजी हुनुको कारण कथावस्तुलाई मान्छन् । 
Most Visited News (monthly)