Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विरगञ्जमा गोविन्दाले दिँदैछन् प्रस्तुती

फिल्मीखबर, काठमाण्डौ, 2019/11/03
एक समय बलिउडमा एकछत्र राज गरेका अभिनेता गोविन्दा फेरि एकपटक नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् । उनलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । 
 
उनका अनुसार, गोविन्दाले नेपाल आउने सेड्युल आफैंले बनाएका छन् । अध्यक्ष अधिकारीले भने, ‘भारतबाट नेपाल आउने सेड्युल उहाँ (गोविन्दा) आफैंले बनाउनुभएको छ । सम्भवतः उहाँ कार्यक्रम हुनुभन्दा २ दिन अगाडि नेपाल ओर्लिनुहुनेछ । र, कात्तिक २१ गते बिहान विरगञ्ज पुग्ने कार्यक्रम छ ।’ गोविन्दाले कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिने उनले बताए । 
 
 
‘नेपालमा गोविन्दाको फ्यान फलोइंग ठूलो छ । त्यसमाथि विरगञ्जमा कार्यक्रम राखिएको हुँदा त्यहाँ भारतीय फिल्म मन पराउने दर्शक धेरै छन् । यसकारण पनि कार्यक्रममा सहभागी हुनका लागि हामीले गोविन्दाज्यूलाई आग्रह गरेका थियौं । उहाँले हाम्रो आग्रह सहर्ष स्वीकार गर्नुभयो’, निर्माता संघका अध्यक्ष अधिकारीले फिल्मीखबरसँग भने । 
 
अभिनेता गोविन्दा गएको वर्ष राजधानीमा भएको ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । यसअघि पनि उनी थुप्रै पटक नेपाल आइसकेका छन् । उनकी श्रीमती सुनीता आहुजा नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश बताउने गर्दछन् । उनले संसारमा आफूलाई सबैभन्दा मनपर्ने देश नेपाल बताउने गरेका छन् । 
 
‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुन लागेको हो । कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तीन दिनसम्म चल्नेछ । महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरु सहभागी हुने बताइएको छ । 
Most Visited News (monthly)