.jpg)
फिल्म ‘कृ’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकीले आफ्नो प्रेम सम्बन्धको किताब खोलेकी छन् । बलिउडमा प्रवेश गर्नका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर मोडलिङ गर्दै आइरहेकी उनी अहिले भारतीय र्यापर अलिम मोरानीको प्रेममा रमाइरहेकी छन् । शनिबार उनले इन्स्टाग्राममार्फत् आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी हुन् ।
उनले इन्स्टामा प्रेमी मोरानीसँगको एक तस्विर साझेदार गर्दै लभको इमोजी राखेर ‘गुड टाइम्स्’ भनेर लेखेकी छन् । तस्विरमा प्रेमीसँग अदिती रोमान्टिक मुडमा देखिएकी छन् । इन्स्टाग्राममा आफ्नो बोल्ड तस्विर राखेर चर्चामा आउने गरेकी उनले पहिलो पटक प्रेमीसँगको तस्विर साझेदार गरेपछि बधाईको ओहिरो लागेको छ । धेरैले दुईको जोडी सुहाएको प्रतिक्रिया जनाएका छन् ।
र्यापर अलिमले गएको वर्ष ‘लेट मि लाइभ’ नामक पहिलो र्याप गीत सार्वजनिक गरेका थिए । जुन गीत यूट्युबमा निकै रुचाइएको छ । उनले आफूलाई इन्स्टाग्राममा र्यापर, सङ राईटर र ड्रीमरको रुपमा चिनाएका छन् । चकलेटी लुक्सका अलिमले अदितीसँगको तस्विर भने अहिलेसम्म सामाजिक सञ्जालमा साझेदार गरेका छैनन् । तर, अदितीले उक्त तस्विर प्रेमीलाई इन्स्टामा मेन्सन गरेकी छन् ।
अभिनेत्री अदितीले ‘कृ’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् । यो फिल्म रिलिज भए लगत्तै उनी मुम्बई हानिएकी थिइन् । उनी लामो समयदेखि बलिउडमा प्रवेश गर्नका लागि संघर्ष गरिरहेकी छन् । केही समय अगाडि उनी इन्डियन-अमेरिकन वेब टेलिभिजन सिरिज ‘इनसाइड एज २’ मा अभिनेता विवेक ओबरोयसँग देखिन लागेको चर्चा चलेको थियो । तर, यो सिरिज अहिलेसम्म निर्माण हुन सकेको छैन ।

