यस वर्ष ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ गरि चार महिनाको अन्तरमा दुई ब्लकबस्टर फिल्म दिएपछि अभिनेता दयाहाङ राईको स्टारडम पुनः उत्कर्षमा पुगेको छ । एकपछि अर्को फ्लप फिल्मले थलिएका उनलाई यी दुई फिल्मको सफलताले ठूलो राहत दिएको छ । अहिले उनको फेरि नेपाली फिल्ममा माग चुलिएको छ । उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप हुन थालेको छ ।
यसबीच, उनले आफ्नो व्यस्तताका कारण साइन गरेको फिल्म ‘लप्पन छप्पन २’ छाडेका छन् । विभिन्न कारणले निर्धारित मितिमा छायांकन सुरु हुन नसकेपछि उनले फिल्मबाट हात झिकेका हुन् । यद्यपि, उनी यो फिल्मको छायांकनका लागि दशैं अगाडि लण्डन पुगेका थिए । तर, त्यहाँ फिल्मको छायांकन नभएपछि उनी घुमेर फर्किए । अहिले फिल्मको अष्ट्रेलियामा छायांकन भइरहेको छ ।
.jpg)
दयाहाङले फिल्मबाट हात झिकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको छ । उनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । यसअघि उनले आफ्नै पिताले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनयमा डेब्यू गर्न लागेका थिए । अभिनेत्रीमा करिश्मा मानन्धरकी छोरी कविता थिइन् । तर, यो फिल्मको छायांकन आधा पनि नसकिँदै रोकियो ।
गोप्य स्रोतले दिएको जानकारी अनुसार, ‘लप्पन छप्पन २’ मा शक्तिलाई शिव श्रेष्ठले सिफारिस गरेका हुन् । किनकि, यो फिल्ममा शिवको पनि अभिनय छ । उनले अभिनेता सौगात मल्लको पिताको भूमिका निभाउँदैछन् । फिल्मबाट दयाहाङ हटेपछि शिवले आफ्नो छोरालाई लिन निर्माण टिमलाई आग्रह गरेको जानकारी प्राप्त छ । फिल्ममा शक्ति प्रहरीको भूमिकामा हुने बताइएको छ ।
दयाहाङले किन छाडे ‘लप्पन छप्पन २’ ?
अभिनेता दयाहाङ राईले फिल्म ‘लप्पन छप्पन’ को पहिलो श्रृंखलामा प्रहरी अफिसरको भूमिका निभाएका थिए । यो फिल्म बक्सअफिसमा असफल भएको थियो । तर, निर्माण टिमले फ्लप फिल्मको सिक्वेल बनाउने जोखिम उठाएको छ । छायांकनरत ‘लप्पन छप्पन २’ बाट दयाहाङले हात झिकेपछि फिल्मले दर्शकलाई हलसम्म तान्ने एउटा बलियो हतियार गुमाएको छ ।
 (1)(1).jpg)
उनले यो फिल्म छाड्नुको कारण उपेन्द्र सुब्बाको फिल्म ‘जारी’ हो । अहिले यो फिल्मको छायांकन पाँचथरमा भइरहेको छ । फिल्ममा दयाहाङको जोडी अभिनेत्री मिरुना मगरसँग बाँधिएको छ । उनले दशैंभित्र ‘लप्पन छप्पन २’ को छायांकन पूरा गर्ने र तिहारपछि ‘जारी’ लाई समय निकाल्ने तालिका थियो । तर, ‘लप्पन छप्पन २’ को छायांकनमा ढिलाई भएपछि उनले फिल्म छाडेका हुन् ।

