अभिनेता भुवन केसीको कमब्याक फिल्म ‘मिस्टर नेपाली’ नेपालअघि अमेरिकामा प्रिमियर हुने भएको छ । कात्तिक २९ गतेबाट नेपालभर प्रदर्शन हुन लागेको यो फिल्मको नोभेम्बर १० र १२ मा अमेरिकामा प्रिमियर हुने निर्माता प्रेमराज दाहालले जानकारी दिए । हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा फिल्मको प्रिमियर हुन लागेको हो ।
यही मितिमा अमेरिकाको वाल्टर्न बीएलभीडीमा पनि फिल्मको प्रिमियर हुने बताइएको छ । यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा फिल्मको प्रिमियर हुनेछ । १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा फिल्मको प्रिमियर हुने निर्माता दाहालले जानकारी दिए । ‘मिस्टर नेपाली’ को निर्देशन देव भुषालले गरेका हुन् ।
(1).jpg)
निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको यो फिल्म विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा आधारित छ । निर्देशक भुषालले फिल्मले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए । फिल्म उत्कृष्ट बनेको उनको दाबी छ । फिल्मको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।
फिल्ममा भुवनका अलावा रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, लक्ष्मी तिमल्सिनालगायतका कलाकारको अभिनय छ । यो फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । विदेशबाट फर्किएका साहिल र गाउँमा एकछत्र राज गरेर बसेका भुवनबीचको टकराव फिल्ममा देख्न पाइनेछ ।

