
अभिनेता शाहरुख खानले पछिल्लो रिलिज फिल्म ‘जीरो’ पछि नयाँ फिल्म साइन गरेका छैनन् । यसकारण उनी अहिले फुर्सदिलो जीवन विताइरहेका छन् । र, उनलाई विभिन्न कार्यक्रमबाट निमन्त्रणाको ओहिरो आउने गरेको छ । हालै दिल्ली स्थित पीवीआर अनुपम पुगेका शाहरुखले अरु सबै कलाकार व्यस्त भएका कारण आफू आएको बताए ।
केही दिन अगाडि डेविड लेटरम्यानको शोमा पुगेका शाहरुख आफ्नो खालीपनबाट दुःखी देखिएका थिए । एक अखबारका अनुसार, शाहरुख खानले भनेका छन्, ‘मसँग अहिले कुनै काम छैन । सलमान र आमिर खान व्यस्त छन् । ऋतिक रोशन पनि निकै व्यस्त छन् । त्यसैले अहिले मलाई हरेक कार्यक्रममा बोलाइन्छ । र, म पुग्ने गरेको छु ।’
चाँडै आफ्नो ५४ औं जन्मदिन मनाउने तयारीमा रहेको किंग खानले आफूले चाँडै नयाँ फिल्मको घोषणा गर्न सक्ने बताए । उनले तत्काल फिल्म नगर्नुको कारणबारे भने, ‘म थोरै समय लिइरहेको छु । अहिले दुई/तीनवटा स्क्रिप्टमा काम भइरहेको छ । त्यसको तयारी पूरा भएपछि म तपाईंमाझ लिएर आउनेछु ।’ उनले निर्देशक राजकुमार हिरानीसँग काम गर्न लागेको चर्चा छ ।
एक समय एकसेएक हिट फिल्म दिएका अभिनेता शाहरुखका पछिल्ला कुनै फिल्म सफल छैनन् । ‘जीरो’ अघि उनका दुई फिल्म ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’ पनि फ्लप भएका थिए । लगातार फिल्म असफल हुन थालेपछि उनी अब हतारमा फिल्म छनोट गर्ने मनस्थितिमा छैनन् । सम्भवतः आफ्नो जन्मदिनमा उनले नयाँ फिल्मको घोषणा गर्न सक्नेछन् ।

