नेपालमा महिला केन्द्रित फिल्म निकै कम बन्दछन् । बने पनि हलमा दर्शक तानेका फिल्मको संख्या अत्यन्त न्यून छ । यसकारण पनि मेकरहरु महिला केन्द्रित फिल्म बनाउने जोखिम उठाउन हत्तपत्त आँट गर्दैनन् । तर, वर्षमा भाट्ट-भुट्ट अभिनेत्रीलाई केन्द्रिय भूमिकामा प्रस्तुत गरेर फिल्म निर्माण हुने गरेका छन् । यस वर्ष फिल्म ‘जाइरा’ प्रदर्शन भएको थियो, जुन महिला केन्द्रित थियो ।
अब, आउँदो मंसिर १३ गते फिल्म ‘सरौतो’ रिलिज हुँदैछ । फिल्ममा अभिनेत्री सुमी मोक्तान केन्द्रिय भूमिकामा छिन् । उनले नै फिल्मलाई आफ्नो काँधमा बोकेकी छन् । बदलाको कथामा निर्मित फिल्ममा सुमी एक्सन अवतारमा प्रस्तुत छिन् । केही हप्ता अगाडि सार्वजनिक भएको ट्रेलरमा उनको एक्सनलाई विशेष प्राथमकिता दिइएकोे थियो । जसमा उनी निकै जमेकी थिइन् ।
ट्रेलरबाटै सुमीलाई एक्सनमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । यो फिल्मबाट उनले लिड रोलमा डेब्यू गर्न लागेकी हुन् । तर, फिल्मको पटक-पटक प्रदर्शन मिति पोस्टपोन्ड हुँदा उनी निकै निराश छिन् । कात्तिक २२ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टीम प्रचारमा उत्रिएको थियो । तर, यो मितिमा फिल्म ‘घामड शेरे’ आएपछि ‘सरौतो’ कात्तिक २९ मा पुग्यो ।
तर, यो मिति यसअघि नै ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ ले ‘लक’ गरिसकेका थिए । बिहीबार निर्माण टीमले पुनः फिल्मको मिति दुई हप्ता पछाडि सारेको छ । अब, फिल्म मंसिर १३ मा रिलिज हुँदैछ । यो मितिमा अभिनेता सुशील श्रेष्ठको फिल्म ‘लभ डायरीज’ आउने सम्भावना प्रवल छ । यद्यपि, निर्माण टिमले अहिलेसम्म औपचारिक रुपमा प्रदर्शन मिति घोषणा भने गरेको छैन ।
‘सरौतो’ ले दुई पटक प्रदर्शन मिति हेरफेर गर्दा सुमीको अनुहारमा चिन्ताको रेखा देखिन थालेको छ । यो फिल्म प्रदर्शन भए आफ्नो फिल्मी करिअर उकालो लाग्ने विश्वास उनको छ । तर, डेब्यू फिल्म प्रदर्शन नहुँदा उनलाई दोस्रो फिल्म हात पार्नै गाह्रो भएको छ । पटक-पटक प्रदर्शन मिति सर्दा फिल्मको व्यापारमा असर पर्ने डर पनि उनमा छ । नेपाली फिल्ममा आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न सुमीमाथि यो फिल्म चल्नै पर्ने दबाब छ ।

