नेपालमा विदेशी फिल्मको प्रभाव ठूलो छ । यहाँ नेपाली फिल्मभन्दा बलिउड र हलिउड फिल्मको प्रतिक्षामा बढी हुन्छन्, दर्शक । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने दर्शकको संख्या अझै पनि ठूलो छ । एकै मितिमा नेपाली र विदेशी फिल्म प्रदर्शनमा आयो भने दर्शकको पहिलो रोजाई विदेशी फिल्म हुन्छ । र, हल सञ्चालकको पनि । त्यसैले प्रतिक्षीत विदेशी फिल्म प्रदर्शन हुँदा सकभर नेपाली फिल्म आउँदैनन् ।
एकाध नेपाली फिल्म मात्र होलान्, जसले हलमा विदेशी फिल्मलाई विस्थापित गरेका हुन् । प्रतिक्षीत बलिउड र हलिउड फिल्मसँग भिडन्त गरेका अधिकांश नेपाली फिल्मले हलमा पानी भन्न नपाएका उदाहरणहरु धेरै छन् । तात्तातो उदाहरण फिल्म ‘मारुनी’ हो । यो फिल्म साउथ फिल्म ‘साहो’ सँग एकसाथ प्रदर्शनमा आएको थियो । उक्त फिल्मको ‘वर्ड अफ माउथ’ कमजोर भएपनि ‘मारुनी’ ले त्यसको फाइदा उठाउन सकेन ।

शुक्रबारबाट नेपाली हलमा दुई बलिउड फिल्म ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ सँगै एक प्रतिक्षीत नेपाली फिल्म ‘पोइ पर्यो काले’ प्रदर्शनमा आएका छन् । बुधबारसम्म अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, अक्षय कुमार स्टारर फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्सहरुमा अत्यन्त न्यून सोज पाएपछि फिल्म दुई हप्ता (कात्तिक २२) पछाडि सर्यो ।
यो फिल्मको रिलिज पोस्टपोन्ड हुँदा ‘पोइ पर्यो काले’ लाई दर्शक र हल बाँडिने चिन्ता केही हदसम्म कम भए पनि ‘हाउसफुल ४’ को डर कायमै छ । यसले फिल्मको इनिसियल बक्सअफिसमा ठूलो असर गर्ने प्रक्षेपण गरिएको छ । किनकि, यो फिल्मले मल्टीप्लेक्समा सर्वाधिक सोज पाएको छ । चलेका कलाकारको बाबजूद पनि ‘पोइ पर्यो काले’ लाई न्यून सोज मिलेको छ । त्यसैले फिल्मको सुरुवाती बक्सअफिस उत्साहजनक नहुन सक्छ ।
यो अवस्थामा फिल्मलाई ‘वर्ड अफ माउथ’ को भर रहनेछ । दर्शक र समीक्षकबाट प्रशंसा मिलेको खण्डमा आइतबारबाट फिल्मले बक्सअफिसमा आफ्नो दबदबा कायम गर्न सक्नेछ । फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् । पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । फिल्मले रुप कालो भए पनि मन गोरो हुनुपर्छ भन्ने सन्देश दिने बताइएको छ ।

