Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 5.00/5.00)
Text size:-
+
-

निश्चलजी, आफूलाई पर्दा मात्र रोइकराई गर्ने हो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/10/24
‘जसलाई पर्छ ऊ मात्र बोल्छ’ भन्ने कहावत नेपाली फिल्मकर्मीको हकमा शतप्रतिशत लागू हुन्छ । अरुलाई पर्दा आँखामा पट्टी बाँध्ने तर आफूलाई पर्दा रोइकराई गर्ने नेपाली फिल्मकर्मीको पुरानै रोग हो । अरुलाई कुनै समस्या आइलाग्यो भने त्यसलाई आफ्नै मानेर लड्ने निकै कम भेटिन्छन् । तर, जब आफूलाई त्यही समस्या आइलाग्छ तब कसैले साथ र सहयोग गरेनन् भन्दै नेपाली फिल्मकर्मीहरु रोइलो गर्छन् । 
 
 
केही वर्षदेखि फिल्म रिलिजको बेला मल्टीप्लेक्सहरुले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने प्रवृति निकै फस्टाएको छ । एकै मितिमा विदेशी फिल्म रिलिज भयो भने नेपाली फिल्मले सोज नै पाउँदैनन् । पाए पनि २/४ सोजमा खुम्चिनु पर्छ । मल्टीप्लेक्सको यस प्रकारको दादागिरीबाट थुप्रै निर्माता पीडित भइसकेका छन् । तर, यसको विरुद्धमा आवाज कसले उठाउने ? 
 
हल सञ्चालक र वितरकको विरुद्धमा आवाज उठाए भोली आफ्नो फिल्मले हल र सोज नै नपाउने डरले कोही निर्माता बोल्दैनन् । जसलाई पर्छ ऊ मात्र एक्लै रोइकराई गर्छ । निर्देशक हेमराज विसी र निर्देशक टर्न अभिनेता निश्चल बस्नेतको हकमा पनि अहिले यही कुरा लागू भएको छ । अरुलाई समस्या पर्दा यी दुई निर्देशकले कहिल्यै मुख खोलेनन् । अझ भनौं, अरुको समस्यासँग आफूहरुको कुनै सम्बन्ध नै नभएकोझैँ गरे । 
 
तर, अहिले उनीहरुलाई त्यही समस्या आइलागेको छ, जसबाट यसअघि थुप्रै निर्माता गुज्रिसकेका छन् । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक हेमराज विसी निर्देशित तथा अभिनेता निश्चल बस्नेत अभिनीत फिल्म ‘घामड शेरे’ लार्ई मल्टीप्लेक्सहरुले पर्याप्य सोज दिएनन् । बलिउड फिल्म ‘हाउसफुल ४’ लाई भएभरको सोज दिएर मल्टीप्लेक्सहरुले ‘घामड शेरे’ लाई अत्यन्त न्यून सोज बाँडे । 
 
कम सोजमा प्रदर्शन गर्दा लगानी उठाउन नसकिने भन्दै बुधबार साँझ निर्माण टिमले अचानक फिल्मको रिलिज एकहप्ता पछाडि सार्ने निर्णय गर्‍यो । यो घोषणाले धेरैलाई चकित तुल्यायो । अब, यो फिल्म कात्तिक २२ गतेबाट प्रदर्शनमा आउनेछ । तर, आफू अभिनीत फिल्मलाई मल्टीप्लेक्सले नपत्याएपछि अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जालमा हल सञ्चालक र वितरकप्रति आक्रोश पोखेका छन् । 
 

अरु निर्माताले यही समस्या झेल्दा मुखदर्शक भएर बस्ने निश्चलले अब नेपाली फिल्मको प्रगतिको लागि काम गरिरहेको भन्ने शब्द वितरक, हल सञ्चालक र नजिकका फिल्मकर्मीले आफूसँग नगर्न चेतावनी दिएका छन् । आफ्नो फिल्म वितरक र हल सञ्चालकको नजरमा कस्तो रहेछ भन्ने थाहा भएको उनको भनाई छ । तर, उनको सपोर्टमा निकै कम फिल्मकर्मी देखिएका छन् । अरुबेला बोल्ने पनि अहिले मौन छन् । 
 
नेपालीमा एउटा प्रख्यात उखान छ, ‘आफू नमरी स्वर्ग देखिन्न ।’ निश्चललाई यसअघि मल्टीप्लेक्सहरुले यत्तिसम्म अत्याचार गरेका थिएनन् । उनी निर्देशित वा अभिनीत फिल्मले मल्टीप्लेक्समा पर्याप्य सोज पाउँथे । त्यसैले होला, उनले अरु निर्माताको समस्यालाई आफ्नो ठान्ने प्रयत्न नै गरेनन् । तर, सधैं समय एकनाश कहाँ हुन्छ र ! हिजो अरुले जे बेहोरे, आज उनी स्वयं त्यसको शिकार भएका छन् । 
 
फिल्म रिलिजको समयमा हल सञ्चालक र वितरकले निर्मातालाई कुन हदसम्मको अत्याचार गर्दा रहेछन् भन्ने निश्चलले अब भने महशुस गरे कि ! आफूलाई पर्दा मात्र रोइकराई गर्नुभन्दा त्यो समस्या आउनै नदिन फिल्मकर्मीहरु अब एकजुट हुन आवश्यक छ । हल सञ्चालक र वितरकले विदेशी फिल्मलाई मात्र चाप्दै जाने हो भने एकदिन नेपाली फिल्मको बजार देशभित्रै ध्वस्त नहोला भन्न सकिन्न । 
Most Visited News (monthly)