Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मल्टीप्लेक्समा कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’

फिल्मीखबर, काठमाण्डौ, 2019/10/23
 
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । फिल्म शुक्रबार प्रदर्शन नहुने वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए । मल्टीप्लेक्सहरुले अपेक्षाभन्दा कम सोज बाँडेको भन्दै निर्माण टिमले शुक्रबार फिल्म रिलिज नगर्ने निर्णय लिएको हो । 
 
पोखरामा रहेका वितरक श्रेष्ठले फिल्मीखबरसँग कुराकानी गर्दै भने, ‘मल्टीप्लेक्समा फिल्मले जति सोज पाउँछ भन्ने हाम्रो अपेक्षा थियो त्योभन्दा अत्यन्त कम पाएपछि शुक्रबार फिल्म प्रदर्शन नगर्ने निर्णयमा पुगेका हौं । अब, फिल्म दुई हप्तापछि प्रदर्शनमा आउनेछ ।’ उनले अब ‘घामड शेरे’ कात्तिक २२ गते प्रदर्शन हुने बताए । 
 
यो फिल्मले मल्टीप्लेक्समा कम सोज पाउनुको कारण बलिउड फिल्म ‘हाउसफुल ४’ हो । यो फिल्मलाई नेपालका अधिकांश मल्टीप्लेक्स हलहरुले उच्च सोज प्रदान गरेका छन् । जसले गर्दा ‘घामड शेरे’ र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको अर्को नेपाली फिल्म ‘पोइ पर्‍यो काले’ ले मल्टीप्लेक्सहरुमा पर्याप्त सोज पाउन सकेनन् ।
 
कम सोजमा प्रदर्शन गर्दा लगानी उठाउन गाह्रो हुने भन्दै ‘घामड शेरे’ टिमले घोषित मितिमा फिल्म ल्याउन नसकेको जानकारी प्राप्त छ । हेमराज विसी निर्देशित फिल्ममा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । यो फिल्म सरेपछि शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ टिमलाई दर्शक बाँडिने चिन्ता केही हदसम्म भए पनि कम भएको छ । 
 
बुधबार दिउँसो मल्टीप्लेक्सहरुले शुक्रबारबाट प्रदर्शनमा आउन लागेका दुई नेपाली र दुई बलिउड फिल्मको अग्रिम बुकिङ खुल्ला गरेका थिए । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले राजधानीभित्र ‘घामड शेरे’ लाई ५ सोज र ‘पोइ पर्‍यो काले’ लाई ४ सोज बाँडेको थियो । ‘घामड शेरे’ शुक्रबार नआउने भएपछि मल्टीप्लेक्सहरुले फिल्मको सोज हटाएका छन् । 
Most Visited News (monthly)