अभिनेत्री नीता ढुंगानाले फिल्मी करिअर सुरु गरेको एक दशकभन्दा बढी भइसकेको छ । बाल कलाकारको रुपमा डेब्यू गरेको फिल्म ‘मितिनी’ पनि गन्ने हो भने उनी २ दशकभन्दा लामो समयदेखि नेपाली फिल्ममा सक्रिय छिन् । जुनसुकै भूमिकालाई न्याय गर्न सक्ने अभिनेत्रीको रुपमा चिनिएकी उनले अभिनयको हिसाबले तीन दर्जन बढी फिल्म गरिसकेकी छन् । तर, उनको खातामा एउटा मात्र हिट फिल्म छ, ‘६ एकान ६’ ।
यो फिल्मभन्दा बाहेक उनी सोलो अभिनेत्री रहेका कुनै फिल्म बक्सअफिसमा सफल भएका छैनन् । तर, फिल्म असफल भए पनि उनको फिल्मी करिअरलाई त्यसले कुनै असर गरेको छैन । एउटा फिल्मको सुटिङ नभ्याउँदै उनी अर्को फिल्मको काममा व्यस्त भइहाल्छिन् । सरल स्वभावका कारण पनि उनी फिल्ममेकरको नजरबाट टाढा हुन सकेकी छैनन् । लिड होस् वा केमियो रोल, उनी अफर आएका कुनै फिल्म छाड्दिनन् ।
 (1)(1).jpg)
गएको साउनमा उनको प्रमुख भूमिका रहेको फिल्म ‘साइनो’ प्रदर्शनमा आएको थियो । फ्लप फिल्मको श्रृंखलामा यो फिल्मले पूर्णविराम लगाउने उनको निकै ठूलो विश्वास थियो । तर, ब्याडलक ! फिल्मले हलमा हावा खायो । न त उनको अभिनयकै वाहवाही भयो । बरु, अभिनेत्री मिरुना मगरले दर्शकको मन जितिन् । ‘साइनो’ पछि गएको असोजमा उनको सहायक भूमिका रहेको फिल्म ‘रातो टीका निधारमा’ प्रदर्शनमा आयो ।
फिल्ममा लिड रोलमा अभिनेत्री साम्राज्ञी आरएल शाह थिइन् । यसकारण, नीतालाई निर्माण टिमले प्रचारमा पनि अगाडि ल्याएन । न त उनले नै चासो दिइन् । यद्यपि, उनलाई यो फिल्म सफल हुने विश्वास थियो । तर, यो फिल्म पनि बक्सअफिसमा डिजास्टर सावित भयो । दुई महिनाको अन्तरमा दुई फिल्म असफल हुँदा नीताको करिअरमा ठूलो धक्का पुगेको छ । उनी आफैं पनि लगातार फिल्मको असफलताले निराश छिन् ।
अब, उनलाई आफैंले निर्माण गर्ने फिल्मप्रति आश छ । सम्भवतः यसै वर्ष उनले ‘माया’ नाममा फिल्म बनाउँदैछिन् । जसमा उनकै अभिनय रहनेछ । र, उनको अपोजिटमा अभिनेता कोशिश क्षेत्र रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछन् । अरु ब्यानरको फिल्ममा काम गरेर डुब्न लागेको करिअरको नाउ बचाउन नसकेकी नीतालाई अब आफैंले बनाउन लागेको फिल्मले सफलताको उत्कर्षमा पुर्याओस्, शुभकामना ।

