चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा निर्देशक निश्चल बस्नेतले फिल्म ‘लुट’ लिएर आएका थिए । यो फिल्मले संकटकाल लगाउने तयारीलाई मात्र रोकेन नेपाली फिल्ममा कथा भन्ने शैली पनि परिवर्तन गर्यो । यसले घरेलु बजारबाट नेपाली फिल्मले कतिसम्म कमाउन सक्छ भन्ने आँकडा पनि पेश गरेको थियो । त्यसैले ‘लुट’ लाई नेपाली फिल्मको कोशेढुंगा मानिन्छ ।
‘लुट’ पछि निर्देशक बस्नेतले द्वन्द्वकालिन घटनामाथि फिल्म ‘टलकजंग भर्सेस टुल्के’ बनाए । परम्परागत शैलीभन्दा फरक ढंगबाट बनाइएको यो फिल्मले दर्शक र समीक्षक दुबैको मन जित्यो । फिल्मले बक्सअफिसमा पनि नाफाको व्यापार गरेको थियो । यसपछि उनी लामो समय फिल्म निर्देशनबाट टाढा रहे । ‘दिमाग खराब’ नाममा फिल्म बनाउने चर्चा चलिरहँदा उनी ‘लुट’ को सिक्वेल लिएर फर्किए ।
‘लुट २’ ले बक्सअफिसमा राम्रो व्यापार गरे पनि निर्देशक बस्नेतको निर्देशकिय क्षमताको तारिफ भएन । ‘लुट’ को ब्याज खानकै लागि मात्र फिल्म बनाएको भन्दै उनको चर्को आलोचना भयो । निर्देशक निश्चल बस्नेतले पनि फिल्ममा कथा भन्न आफू चुकेको स्वीकार गरिसकेका छन् । ‘लुट २’ बाट ‘घैँटोमा घाम’ लागेको बताउने उनी अब कथाले आफूलाई छुन सकेमात्र फिल्म बनाउने अडान लिएर बसेका छन् ।
अहिले फिल्म निर्देशनबाट दूरी बनाएर उनी फिल्मी अभिनयमा व्यस्त छ । कथा चित्त नबुझेपछि निर्देशन गर्ने पक्का भएको फिल्म समेत छाडेर बसेका उनको नयाँ फिल्म ‘घामड शेरे’ यही कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । जसमा उनले अभिनेत्री स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । फिल्मका निर्देशक हेमराज विसी हुन् । फिल्मको मूलकथा नै निश्चलको वरिपरि घुमेको छ ।
‘लुट’ बाट तपाईंले नेपाली फिल्ममा जुन उपस्थिति जनाउनु भएको थियो त्यो अब सम्भव नदेखेर फिल्म निर्देशनबाट दूरी बनाउनु भएको हो ? एक कफी भेटमा उनलाई पत्रकारले प्रश्न गरे । जवाफमा उनले भने, ‘अब मैले बनाउने फिल्म केही हदसम्म भए पनि फरक हुनुपर्छ भन्ने लाग्छ । उस्तै किसिमको फिल्म बनाउने हो भने म ६/६ महिनामा फिल्म निकाल्न सक्छु । मसँग त्यति धेरै स्क्रिप्टहरु आउँछन् । र, आइडियाहरु मसँग त्यति धेरै छ ।’
निश्चल अगाडि भन्छन्, ‘अहिले बनिरहेका फिल्मभन्दा केही फरक बनाउने कोशिशका कारण मलाई निर्देशनमा फर्किन समय लागेको हो । फिल्म हेरेपछि अरुलाई त्यो लागोस् वा नलागोस् अर्कै ठाउँमा छ । तर, मलाई चाहिँ केही फरक गरेँ भन्ने महशुस हुनुपर्छ । मेरो लाइफटाइम भरी निर्देशकको रुपमा धेरै फिल्म पाउनुहुन्न । थोरै पाउनुहुन्छ तर मेरो कोशिश यति रहनेछ कि ती सबै फिल्महरु मार्केटमा चलिरहेको फिल्मभन्दा केही फरक हुनेछ ।’
आफ्नो लेखन आफ्नो एउटा स्पेसिफिक जनरामा मात्र ठिक रहेको उनको भनाई छ । अरु जनरामा आफ्नो लेखन राम्रो नभएको उनी धक नमानी बताउँछन् । आफूले अन्य जनरामा लेख्ने प्रयास गरेको भएता पनि आफैंलाई चित्त नबुझेको उनले बताए । उनी भन्छन्, ‘म लेखनमा त्यसै त असफल भइरहेको छु । आफ्नो जनराभन्दा बाहिरको फिल्म लेख्न थाले भने त झन् ढुट्टो हुन्छ भनेर अरुलाई लेख्न लगाइरहेको छु ।’
निर्देशक टर्न अभिनेता निश्चलले आफूले खेल्ने फिल्मको स्क्रिप्ट अरुले खोजिरहेको र आफूले बनाउने स्क्रिप्टहरु आफैंले खोजिरहेको बताए । उनी अहिले आफूले निर्देशन गर्ने फिल्मको स्क्रिप्टमा काम भइरहेको बताएका छन् । प्राप्त जानकारी अनुसार, उनी अर्को वर्ष फिल्म निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । अहिले उनको फिल्मको स्क्रिप्ट चर्चित लेखक बुद्धिसागरले लेखिरहेका छन् ।

