Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजालाई दर्शकले मन नपराउने डर

फिल्मीखबर, काठमाण्डौ, 2019/10/22
अभिनयको हिसाबले अभिनेत्री पूजा शर्माले एक दर्जनको आसपासमा फिल्म गरिसकेकी छन् । तर, अभिनेता प्रदीप खड्कासँग जोडी बाँधेको फिल्म ‘प्रेमगीत’ ले उनलाई एकाएक लाइमलाइटमा ल्यायो । फिल्मले बक्सअफिसमा घाटाको व्यापार गरे पनि उनको अभिनयलाई दर्शकले निकै रुचाए । फिल्मको पनि निकै प्रशंसा भयो । यो फिल्मपछि गुमनाम यी अभिनेत्रीले करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । 
 
अहिले नेपाली फिल्मको सबैभन्दा डिमान्डेड अभिनेत्रीको लिस्ट तयार पार्ने हो भने उनको नाम ‘टप थि’ भित्र पर्छ । एकपछि अर्को फिल्मको सफलताबाट लोभलाग्दो स्टारडम बनाएकी उनी महँगो पारिश्रमिक बुझ्ने अभिनेत्री पनि हुन् । पूजाकै दाबीलाई सत्य मान्ने हो भने अहिले उनी एक फिल्मका लागि २० लाखसम्म चार्ज गर्छिन् । उनको स्टारडमलाई हेरेर निर्माता यो रकम तिर्न सोच्दैनन् । उनी भएपछि फिल्म सफल हुने विश्वास मेकरमा छ । 
 
वर्षमा एक वा दुईभन्दा बढी फिल्म नगर्ने उनी पछिल्लो रिलिज फिल्म ‘रामकहानी’ पछि पर्दामा फर्किँदैछन् । उनले धेरैपछि निर्देशक सुदर्शन थापाको क्याम्पबाट बाहिर निस्किएर काम गरेको फिल्म ‘पोइ पर्‍यो काले’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले छुच्ची स्वभावकी एक युवतीको भूमिका निभाएकी छन् । तर, किन उनलाई फिल्मको पहिलो हाफसम्म दर्शकले आफूलाई मन नपराउने डर लागिरहेको छ ?
 
 
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मैले अहिलेसम्म लभस्टोरी फिल्म गरिरहेको थिएँ । यसपटक केही फरक गरौंन भनेर कमेडी जनराको फिल्म गरेको छु । पहिलो हाफसम्म त मैले निभाएको क्यारेक्टर नेगेटिभ नै देखिन्छ । कति दर्शकले मन नपराउन पनि सक्नुहुन्छ । मलाई त्यसको एकदमै डर लागिरहेको छ । सुटिङको बेला मैले निर्देशक शिशिर राणालाई दर्शकले मलाई मनै पराउँदैनन् भनेर भन्थेँ ।’
 
कथावस्तु मन परेर यो फिल्म गर्न राजी भएको उनी सुनाउँछिन् । ‘समाजमा घटिरहेको घटनालाई फिल्मले उठाएको छ । कसैलाई हेर्दा सबैभन्दा अगाडि हाम्रो आँखा लुकमा नै जान्छ । यो चिज हरेकमा हुन्छ । तर, हामीले कसैलाई रुप हेरेर मुल्यांकन गर्नु हुँदैन । रुप जस्तो भए पनि मन सफा हुनुपर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ’, उनी सुनिइन् । उनी फिल्मले उठाएको विषयवस्तुले दर्शकको मन छुनसक्नेमा विश्वस्त छिन् । 
 
‘पोइ पर्‍यो काले’ लाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । पूजासँगै आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि  श्रेष्ठ, राजाराम पौडेलको प्रमुख भूमिका रहेको यो फिल्म पूर्ण रुपमा कमेडी र सामाजिक कथामा बनेको निर्माण टिमले बताएको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)