Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोजपुरी स्टार निरहुवालाई मनपर्‍यो ‘छ माया छपक्कै’

फिल्मीखबर, काठमाण्डौ, 2019/10/21
भोजपुरी फिल्मका हिट मेशिन भनिने अभिनेता दिनेश लाल यादव ‘निरहुवा’ ले नेपाली फिल्म ‘छ माया छपक्कै’ हेरेका छन् । एक भोजपुरी फिल्मको छायांकनका लागि नेपाल आएका उनले आइतबार साँझ काठमाडौंको बिग मुभिजमा फिल्म हेरेका हुन् । नेपाल र नेपाली फिल्म निकै मनपर्ने बताउने उनले ‘छ माया छपक्कै’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । 
 
निरहुवासँगै फिल्म हेर्न हल पुगेका फिल्म ‘सुश्री सम्पत्ति’ का निर्देशक सुव्रत आचार्यले आफ्नो आधिकारिक फेसबुकमा उनीसँग खिचेको तस्विर साझेदार गर्दै लेखेका छन्, ‘सुटिङका लागि काठमाडौं आउनुभएका भोजपुरी फिल्म स्टार निरहुवा उर्फ दिनेशलाल यादवसँग ‘छ माया छपक्कै’ हेरियो । दिनेशजीलाई फिल्म ‘बहुत बढिया’ लागेछ । मलाई पनि निकै ‘बढिया’ लाग्यो ।’ 
 
 
निर्देशक आचार्यको पोस्टको कमेन्टमा ‘छ माया छपक्कै’ का कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले निरहुवाले ‘छक्का पञ्जा ३’ पनि हेरेको बताएका छन् । उनले निरहुवालाई फिल्म हेरिदिएकोमा धन्यवाद दिएका छन् । भोजपुरी फिल्मको छायांकनका लागि बाक्लै नेपाल आउने निरहुवाले नेपाली फिल्मको मेकिङ शैलीले आफूलाई लोभ्याउने बताउने गरेका छन् । 
 
‘छ माया छपक्कै’ को बक्सअफिस रिपोर्टको कुरा गर्ने हो भने फिल्मले प्रदर्शनको ९ दिनमा ९ करोडको व्यापार गरेको वितरक र निर्माताले दाबी गरेका छन् । ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रभाव फिल्मको बक्सअफिसमा परेको छ । निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार, सिंगल पर्दाहरु सामान्य रहेपनि मल्टीप्लेक्समा फिल्मको व्यापार राम्रो छ । 
 
फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेको फिल्ममा राजनीतिक पृष्ठभूमिमा प्रेम बुनिएको छ । रोहित अधिकारीको निर्माणमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्टलगायतको अभिनय छ । यो फिल्मको लाइफटाइम कलेक्सन १२ देखि १५ करोडसम्म हुने अनुमान गरिएको छ ।
Most Visited News (monthly)