फिल्म ‘टलकजंग भर्सेस टुल्के’ रिलिजपछि निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’ नाममा फिल्म बनाउने घोषणा गरेका थिए । तर, चलचित्र विकास बोर्डमा नाम दर्ता नै नगरि उनले फिल्मको घोषणा गरेपछि अर्कै कम्पनीले यो नाम दर्ता गर्यो । र, निश्चलको हातबाट ‘दिमाग खराब’ उम्कियो । यसपछि उनले ‘लुट २’ बनाए । तर, बोर्डमा नाम दर्ता भएको तीन वर्षसम्म पनि ‘दिमाग खराब’ बन्न सकेन ।
चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको तीन वर्षसम्म फिल्म निर्माण भएर प्रदर्शन नभए निर्माण इजाजत स्वतः रद्द हुने प्रावधान छ । र, उक्त नाम अर्को कम्पनीले दर्ता गरेर फिल्म बनाउन मिल्छ । ‘दिमाग खराब’ को हकमा पनि यही भयो । बोर्डमा नाम दर्ता गरेको तीन वर्षसम्म पनि फिल्म नबनेपछि स्वतः निर्माण इजाजत रद्द भयो र निश्चलले आफ्नो ब्यानरमा ‘दिमाग खराब’ दर्ता गरे ।
बोर्डमा फिल्मको नाम दर्ता गर्दा निश्चलले निर्देशकमा आफ्नै नाम राखेका थिए । ‘लुट २’ पछि फिल्म निर्देशन नगरेका उनी यही फिल्मबाट निर्देशनमा कमब्याक गर्ने तयारीमा थिए । उनले फिल्मका लागि कथा पनि तयार पारिसकेका थिए । तर, कथा चित्त नबुझेपछि उनी फिल्म निर्देशनबाट पछाडि हटे । अब, यही नाममा नयाँ कथामा फिल्म बन्ने भएको छ । फिल्मको निर्देशन सिमोस सुनुवारले गर्दैछन् ।
.jpg)
कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘घामड शेरे’ को विषयमा जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक टर्न अभिनेता निश्चलले तिहारपछि सिमोसले निर्देशन गर्न लागेको फिल्ममा काम गर्न लागेको बताए । उनले यो फिल्ममा आफ्नो जोडीको रुपमा स्वस्तिमा हुने पनि खुलाए । ‘घामड शेरे’ मा उनीहरु भेना र सालीको भूमिकामा छन् ।
‘दिमाग खराब’ आफैंले निर्देशन नगर्नुको कारणबारे उनले भने- ‘पहिला यो फिल्म म आफैंले निर्देशन गर्न लागेको थिएँ । फिल्मका लागि कथा पनि तयार भइसकेको थियो । तर, पछि म आफैंलाई फिल्मको कथाले छुन सकेन । अनि, त्यसलाई पोको पारेर फ्यालिदिएँ । अब सिमोस सुनुवारले नयाँ कथामा फिल्म बनाउँदै हुनुहुन्छ । त्यसमा म र स्वस्तिमा लिड रोलमा हुनेछौं ।’ फिल्मलाई निश्चलले निर्माण गर्नेछन् ।
‘दिमाग खराब’ मा काम गरेपछि भने निश्चल फिल्म निर्देशनमा फर्किने मनस्थितिमा छन् । ‘लुट २’ पछि फिल्म निर्देशन छाडेर अभिनयमा व्यस्त निश्चल फिल्ममा अभिनय गर्नु आफ्नो रहर र बाध्यता दुबै भएको बताउँछन् । ‘मैले जति फिल्ममा केमियो गरेँ त्यो सबै बाध्यतामा गरेको थिएँ । साथीको कुरा काट्न नसकेर गरेको हुँ । लिड रोलमा गरेको फिल्म चाहिँ मेरो रहर हो’, उनी सुनिए ।

