Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

दीपकराज भन्छन्, ‘तत्काल ‘छन् गेडी सबै मेरी’ बन्दैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/10/20
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहलाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको छ । पहिलो पटक निर्माण गरेको फिल्म ‘छ’ बाटै जुराएर ‘छ एकान छ’ बनाइएको थियो । यो फिल्मले बक्सअफिसमा नाफाको व्यापार गर्‍यो । जसले दीपक-दीपाको समुहलाई फिल्म निर्माणमा अगाडि बढ्ने हौसला दियो । यसपछि यो समुहले निर्माण गरेको फिल्म ‘छ’ नामबाटै जुराइएको छ ।
 
‘वडा नम्बर छ’ र ‘छक्का पञ्जा’ को तीन सिरिजपछि अहिले हलमा दीपक-दीपाको टीमले निर्माण गरेको ‘छ’ नामबाटै नामाकरण गरिएको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनरत छ । यो फिल्मले पनि बक्सअफिसमा सानदार व्यापार गरिरहेको छ । समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको फिल्मलाई दर्शकले खुबै रुचाएका छन् । फिल्मले पहिलो हप्ताकै कमाईबाट लगानी सुरक्षित गरिसकेको छ ।
 
 
वर्षमा एउटा मात्र फिल्म निर्माण गर्ने दीपक-दीपाको समुहले अर्को वर्षका लागि ‘छ’ नामबाट ‘छन् गेडी सबै मेरी’ फिल्म बनाउन लागेको चर्चा फिल्मवृतमा छ । निर्देशक सिमोस सुनुवारले फिल्मको निर्माण र निर्देशन गर्ने बताइएको छ । नाफाको ६० प्रतिशत लिने सर्तमा दीपक-दीपाको टीमले यो फिल्म गर्ने सहमति भएको जानकारी प्राप्त छ । प्रदीप भारद्धाजले फिल्मको कथा लेखेका छन् ।
 
तर, तत्काल यो फिल्म नबन्ने भएको छ । यसको जानकारी कलाकार तथा निर्माता दीपकराज गिरी स्वयंले दिएका हुन् । ‘छ माया छपक्कै’ हेर्ने दर्शकसँग साक्षात्कार गर्न शनिबार पोखरा पुगेका उनले ‘छन् गेडी सबै मेरी’ को कथामा होमवर्क नपुगेका कारण तत्कालका लागि यो फिल्म बन्ने सम्भावना नभएको बताए ।
 
‘एउटा कथामा काम गर्न करीब १० महिना समय लाग्छ । यो फिल्मको कथामा अझै होमवर्क पुगेको छैन । त्यसैले तत्काल यो फिल्म बन्ने सम्भावना कम छ’, उनले पोखरामा पत्रकारसँग कुराकानी गर्दै भने । स्क्रिप्ट लक भएपछि फिल्मको छायांकन सुरु हुने उनको भनाई छ । उनले कमेडीले फिल्म नचल्ने पनि बताए ।
 
उनी भन्छन्, ‘फिल्म कमेडीले चल्ने भए अहिले वर्षेनी दर्जनौं फिल्म कमेडी कथावस्तुमा बन्छन् । तर, किन सबै चल्दैनन् त ? फिल्ममा कमेडी होइन कन्टेन्ट चाहिन्छ । हाम्रो फिल्ममा कमेडी मात्र हुन्थ्यो भने दर्शकले यो स्तरको साथ कहिल्यै दिनुहुन्न थियो । त्यसैले हामीले बनाउने फिल्मको कथा बलियो हुनुपर्छ ।’
Most Visited News (monthly)