
बलिउड सुपरस्टार अजय देवगनले ९० को दशकमा फिल्म ‘फूल और कांटे’ बाट हिन्दी फिल्ममा अभिनयमा डेब्यू गरेका थिए । आफ्नो २८ वर्ष लामो फिल्मी करिअरमा अजयले कयौं उतार-चढाव देखेका छन् । एक सफल अभिनेता हुनुको साथै उनी एक निर्माता, निर्देशक र पति-पिता पनि हुन् । सूत्रका अनुसार, चाँडै उनको बायोग्राफी लेखिँदैछ ।
अजयको जीवन कथा निकै प्रेरणादायी भएका कारण पुस्तक लेखिन लागिएको बताइएको छ । ‘इन्डस्ट्रीसँग जोडिएता पनि उनले निकै संघर्षपश्चात् आफ्नो स्थान हासिल गरेका हुन् । उनी एक्सन निर्देशक वीरू देवगनका छोरा हुन् । तर, पहिलो हिट फिल्म दिएपछि उनले आफ्नो करिअरमा निकै उतार-चढाव देखे’, सूत्रले बलिउड भास्करसँग कुराकानी गर्दै भनेको छ ।
पुस्तकमा उनको काजोलसँगको प्रेम सम्बन्ध र फिल्म इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन उनले गरेको संघर्षलाई वृस्तीतमा उतारिनेछ । तर, अजयले अहिलेसम्म आफ्नो जिन्दगीमाथि किताब लेख्न अनुमति भने दिइसकेका छैनन् । यद्यपि, उनी सकारात्मक रहेको भारतीय मिडियाले बताएका छन् । उनले अनुमति दिएसँगै पुस्तक लेख्न सुरु हुने बताइएको छ ।
पछिल्लो केही वर्षयता बक्सअफिसमा एकसेएक हिट फिल्म दिइरहेका अभिनेता अजय देवगनको वर्क फ्रन्टको कुरा गर्ने हो भने उनी पछिल्लो पटक फिल्म ‘दे दे प्यार दे’ मा देखिएका थिए, जुन बक्सअफिसमा सफल रहेको थियो । अर्को वर्ष उनको ‘तानाजी : अनसंग वारियर’, ‘तुर्रम खान’, ‘भुज : द प्राइड अफ इन्डिया’ र ‘मैदान’ फिल्म रिलिज हुँदैछन् ।

