दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा’ ले नेपाली फिल्मको इतिहासमा सर्वाधिक ठूलो व्यापार गरेपछि केही वर्षयता ठूलो संख्यामा कमेडी फिल्म बन्दै आएका छन् । तर, कुनै समय कमेडी फिल्म बनाउन भनेपछि निर्माताहरु नाक खुम्चाउँथे । किनकि, त्यसबेला दर्शक एक्सन र पारिवारिक फिल्म हेर्न बढी रुचाउँथे । ‘छक्का पञ्जा’ पछि भने नेपाली फिल्ममा कमेडी फिल्मकै बोलबाला छ ।
कमेडी फिल्म चल्न थालेपछि अहिले सानो पर्दाका कहलिएका हास्यकलाकारहरु फिल्म निर्माणमा होमिने क्रम बढ्दो छ । दीपक-दीपाको समुहपछि सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पनि फिल्म बनाउँदैछन्, ‘सेन्टी भाइरस’ । हाल यो फिल्मको छायांकन भइरहेको छ । मह जोडीले पनि ‘शत्रु गते’ पछि फिल्म निर्माणलाई रोकेका छैनन् । चाँडै हास्यटेलिसिरियल ‘सक्किगोनी’ को टीमले पनि ‘फनफनी’ नाममा फिल्म बनाउँदैछ ।
एक समयको चर्चित हास्यटेलिसिरियल ‘जीरे खुर्सानी’ का प्रमुख कलाकार शिवहरी पौडेलले पनि फिल्म निर्माणमा हात हालिसकेका छन् । उनको निर्माण र निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ को हालै छायांकन सकिएको छ । अब, फिल्म निर्माण गर्ने हास्यकलाकारको लिस्टमा सन्तोष पन्त पनि थपिएका छन् । एक दशक अगाडिको दर्शककोे रोजाईको सिरियल ‘हिजो आजका कुरा’ नाममा उनले फिल्म बनाउँदैछ । फिल्मको निर्देशन उनकै छोरा साकारले गर्दैछन् ।
.jpg)
नेपाल टेलिभिजनमा सबैभन्दा धेरै समय प्रशारण भएको सिरियलमध्येको एक हो, यो । करीब १८ वर्ष हरेक हप्ताको शुक्रबार प्रशारण भएको यो सिरियलले कलाकार पन्तलाई दर्शकमाझ चिनाएको थियो । कलाकार बन्ने सपना बोकेका जो कोही यसमा काम गर्न मरिहत्ते गर्थे । ‘हिजो आजका कुरा’ सिरियलमा काम गर्नका लागि कलाकार पन्तको घरको गेट अगाडि दैनिक घन्टौं कुर्ने कलाकारहरुमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, सिताराम कट्टेल पनि पर्छन् ।
तर, अहिले यीनै कलाकारले सन्तोष पन्तको फिल्म गर्न अस्वीकार गरेका छन् । ‘हिजो आजका कुरा’ फिल्मको घोषणा सभामा पत्रकारले कलाकार तथा निर्देशक पन्तलाई सोधे- ‘यो सिरियलमा काम गरेका केही कलाकार अहिले निकै चर्चित भएका छन् । उनीहरुलाई फिल्म गर्नका लागि प्रस्ताव गर्नुभएन ?’ पन्तले जवाफमा भने- ‘सबैलाई गरेको थिएँ तर कसैले मान्नुभएन । अहिले सबैको आ-आफ्नै टीम रहेछ । हामीसँग सहकार्य गर्न तयार हुनुभएन ।’
पन्तले कलाकारको नाम नलिए पनि दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेलाई उनले फिल्म प्रस्ताव गरेका थिए । तर, उनीहरुले टीमभित्रको फिल्म मात्र गर्ने भन्दै अस्वीकार गरे । फिल्म ‘हिजो आजका कुरा’ मा कलाकार पन्त नै प्रमुख भूमिकामा देखिँदैछन् । उनको जोडीको रुपमा सिरियलकै रमा थपलिया छिन् । केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।

