Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

उपेन्द्र र दीपेन्द्रको फिल्म गर्दै दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2019/10/18
 
अभिनेता दयाहाङ राईका लागि अन्य वर्षको तुलानामा यस वर्ष सम्झनलायक बनेको छ । वर्ष २०७६ को मध्यान्तरसम्ममा उनले दुई ब्लकबस्टर फिल्म दिइसकेका छन् । जेठमा ‘जात्रै जात्रा’ र असोजमा ‘कबड्डी कबड्डी कबड्डी’ ले घरेलू बक्सअफिसमा जबरजस्त व्यापार गर्दा उनको खस्किएको स्टारडम फेरि उत्कर्षमा पुग्यो । दुई फिल्मको सफलताले पुनः नेपाली फिल्ममा उनको डिमान्ड चुलिएको छ । 
 
अहिले उनी आफ्नो भरपर्दो निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ को छायांकनमा व्यस्त छन् । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्ममा प्रमुख भूमिकामा छन् । यसमा दयाहाङको केमियो रहेको जानकारी प्राप्त छ । यो फिल्मपछि उनले गर्न लागेको नयाँ फिल्मको विषयमा धेरैलाई कौतुहलता छ । प्राप्त जानकारी अनुसार, उनी चाँडै उपेन्द्र सुब्बाको फिल्म गर्दैछन् । 
 
‘कबड्डी’ सिरिजका स्क्रिप्ट राइटर तथा चर्चित लेखक सुब्बाले उनलाई लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मको निर्देशन उनी स्वयंले गर्दैछन् । तिहार सकिएलगत्तै फिल्मको छायांकन सुरु हुने बताइएको छ । नाम गोप्य राखिएको फिल्मको अधिकांश छायांकन ताप्लेजुङमा हुने जानकारी प्राप्त छ । यो फिल्मका लागि उनले छायांकनरत फिल्म ‘लप्पन छप्पन २’ समेत छाडेको चर्चा फिल्मवृतमा छ । 
 
लेखक सुब्बाको फिल्मपछि दयाहाङले निर्देशक दीपेन्द्र लामाको फिल्म गर्नेछन् । यसअघि फिल्म ‘घामपानी’ मा दुईको सहकार्य भएको थियो । अहिले निर्देशक लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ ले बक्सअफिसमा सानदार व्यापार गरिरहेको छ । निर्देशक लामा र अभिनेता राईबीच फिल्म गर्ने विषयमा सहमति भइसकेको छ । यी दुई फिल्मसँगै दयाहाङको पाइपलाइनमा अझै केही फिल्म छन् ।
Most Visited News (monthly)