
कमाईको मामलामा दुई बलिउड सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ भन्दा अगाडि निस्किएको छ । रिलिजको दोस्रो हप्तामा पनि यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्म प्रदर्शनमा आएको १४ दिन भइसकेको छ र घरेलू बक्सअफिसमा यो फिल्मले २ सय ८० करोडको आँकडा पार गरेको छ ।
‘वार’ को यो आँकडा हिन्दी, तेलुगू र तमिल तीन भाषा मिलाएर हो । यो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको टप टेनको लिस्टमा पनि सामेल भएको छ । यसले शाहिद कपूरको फिल्मलाई पछाडि पार्दै यो स्थान हासिल गरेको हो । यसअघि २ सय ७८ करोडको कमाईसँगै ‘कबीर सिंह’ दशौं नम्बरमा थियो । यो लिस्टको पहिलो नम्बरमा ‘बाहुबली’, दोस्रोमा ‘दंगल’ र तेस्रोमा ‘सञ्जू’ छ ।
सबैभन्दा धेरै कमाउने बलिउड फिल्मको चौथो नम्बरमा आमिर खानको ‘पीके’ छ । भने, पाँचौ नम्बर सलमान खानको ‘टाइगर जिन्दा हे’ ले कब्जा गरेको छ । सलमानकै फिल्म ‘बजरंगी भाइजान’ छैटौं नम्बरमा रहँदा रणवीर सिंह र दीपिका पादुकोणको फिल्म ‘पद्मावत’ सातौं नम्बरमा विराजमान छ । आठौं नम्बरमा सलमानको ‘सुल्तान’, नवौं नम्बरमा आमिरको ‘धूम ३’ र दशौं नम्बरमा ‘वार’ उक्लन सफल भएको छ ।
सिद्धार्थ आनन्द द्वारा निर्देशित फिल्म ‘वार’ ले आफ्नो पहिलो दिन ५३ करोड ३५ लाखको व्यापार गरेको थियो । ४२ सय स्क्रिनमा एकसाथ रिलिज भएको एक्सन थ्रिलर फिल्ममा अभिनेत्री वाणी कपूर पनि छिन् । दोस्रो हप्ताको विकेन्डबाट कलेक्सनमा केही गिरावट आए पनि फिल्मले ३ सय करोडको आँकडा सजिलै पार गर्ने ट्रेड पण्डितहरुको अनुमान छ । फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो छ ।

