Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

अशोक र दीपकको अंकमाल, सकिएको हो दुश्मनी ?

फिल्मीखबर, काठमाण्डौ, 2019/10/17
नेपाली फिल्म क्षेत्रमा देखावटी मित्रता खुबै देख्न पाइन्छ । वास्तविकतामा सम्बन्ध ३६ को आँकडामा भए पनि मिडियाको अगाडि घनिष्ट सम्बन्ध प्रस्तुत गर्न नेपाली फिल्मकर्मी खुब माहिर छन् । बुधबार निर्माता द्वय अशोक शर्मा र दीपकराज गिरीको पनि गजबकै दोस्तीयारी देखियो, फिल्म ‘छ माया छपक्कै’ को विशेष शोमा । जय नेपाल हलमा आयोजना गरिएको शोमा निर्माता गिरीको निमन्त्रणामा निर्माता तथा निर्देशक शर्मा फिल्म हेर्न पुगेका थिए । 
 
 
मिडियाकर्मीले दुईलाई एकसाथ तस्विर खिचाउन आग्रह गरे । तर, दुबैले केही असहज महशुस गर्दै अंकमाल गरेर तस्विर खिचाए । त्यही माहोलमा ठट्यौली शैलीमा एक पत्रकारले भने- ‘यो तस्विर अर्को वर्षको दशैंमा काम लाग्छ ।’ यो सुनेर अशोक शर्मा र दीपकराज गिरी पनि मुस्कुराए । केही वर्षयता दुईबीच खासै राम्रो सम्बन्ध छैन । गत वर्ष दीपकराजको फिल्म ‘छक्का पञ्जा ३’ सँग आफ्नो फिल्म ‘जय भोले’ भिडाउने तयारीमा थिए, निर्माता शर्मा । 
 
उनले दीपकको समुहले निर्माण गरेको फिल्मसँग भिडाउनकै लागि ‘जय भोले’ बनाएको पनि फिल्मवृतमा चर्चा चलेको थियो । गत वर्षको दशैंमा मिलेर फिल्म रिलिज गर्न दुईबीच थुप्रैपटक वार्ता भए । तर, दुईको आ-आफ्नै अडानले लामो समय सहमति जुट्न सकेन । दुई फिल्म एकै मितिमा जुध्ने लगभग पक्कापक्की नै भएको थियो । तर, अन्तिम समयमा दीपकराजको फिल्म ‘छक्का पञ्जा ३’ लाई घटस्थापना छाड्दै अशोक शर्माले फूलपातीमा ‘जय भोले’ रिलिज गरे । 
 
यस वर्षको दशैं विदामा फिल्म रिलिज गर्न पनि अशोक र दीपकराजबीच महाभारतकै युद्ध भएको थियो । दीपकराजले आफ्नो फिल्म ‘छ माया छपक्कै’ असोज ३ मा ल्याउने तयारी गरिरहँदा निर्माता शर्माले रातारात हेमराज विसीको फिल्म ‘घामड शेरे’ लाई कात्तिक ८ मा पुर्‍याएर ‘कबड्डी ३’ ल्याए । र, आफ्नो फिल्म ‘रातो टीका निधारमा’ असोज १० मा प्रदर्शन गर्ने घोषणा गरे । जसले गर्दा यस वर्षको दशैं विदा खानबाट बन्चित भयो, ‘छ माया छपक्कै’ । 
 
निर्माता शर्माको राजनीतिका कारण दशैं छाड्नु पर्दाको कुन्ठा दीपकराजमा अझै छ । त्यसैले त, केही हप्ता अगाडि फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्माता शर्माप्रति कटाक्ष गर्दै उनले भनेका थिए, ‘छोरा बोकेर आएका पिता र मातासँग के झगडा गर्नु भनेर म आफैं पछाडि हटेँ ।’ यसपछि त के चाहियो र, दीपकराज गिरी र अशोक शर्माको ‘पानी बाराबार’ नै भएको थियो । यद्यपि, निर्माता शर्माले दीपकराजलाई कुनै जवाफ फर्काएनन् । 
 
 
‘छ माया छपक्कै’ को विशेष शोमा दुई बाघ निर्माताको अंकमालले दुश्मनी अब मित्रतामा परिणत भएको अनुमान गर्न सकिन्छ । तर, अर्को वर्षको दशैंमा पनि उनीहरुबीच ‘पानी बाराबार’ को स्थिति सृजना नहोला भन्न सकिन्न । किनकि, अर्को दशैंमा निर्देशक शर्माले नयाँ फिल्म ‘अल्लारे २’ प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । सिमोस सुनुवारसँगको सहकार्यमा बन्न लागेको दीपकराज समुहको फिल्म ‘छन् गेडी सबै मेरी’ पनि दशैंमै प्रदर्शन हुने सम्भावना छ । 
 
अशोक र दीपकले फिल्म प्रदर्शनका लागि दशैं रोजेको खण्डमा पत्रकारले भनेझैँ ‘छ माया छपक्कै’ को विशेष शोमा खिचिएको दुईको तस्विर अर्को वर्षको दशैंमा समाचार बनाउनका लागि मिडियालाई खुब काम लाग्नेछ । तर, हरेक वर्ष फिल्म प्रदर्शन गर्न कुकुर र बिरालोजस्तो झगडा गर्ने दुईको व्यबहारले फिल्म क्षेत्रमा नराम्रो संस्कार भित्राएको कतिपयको आरोप छ । आशा गरौं, अबका दिनमा दुईबीच सहमतिको वातावरण बन्नेछ । 
Most Visited News (monthly)