(2).jpg)
सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरीज’ को निर्माण पूरा भएको करीब डेढ वर्ष भइसकेको छ । तर, अझैसम्म प्रदर्शनमा आउन सकेको छैन । पटक-पटक प्रदर्शन मिति तोकिए पनि प्राविधिक कारण देखाउँदै निर्माण टिमले रिलिज डेट पोस्टपोन्ड गर्दै आएको छ । गत वर्ष नै प्रदर्शनमा आउनु पर्ने फिल्म यस वर्ष पनि दर्शकले हलमा हेर्न पाउने वा नपाउनेमा अन्योल छ ।
अभिनेता सुशील श्रेष्ठको प्रमुख भूमिका रहेको ‘लभ डायरीज’ को टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै गएको असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । तर, अन्तिम समयमा यो मितिमा मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शन मिति तय गर्यो । वितरकले आफूहरुलाई हेपेको भन्दै निर्देशक सौरभ कड्किए । उनले रिसको झोकमा ‘कबड्डी ३’ सँग नभाग्ने र १० वटै फिल्म भए पनि भिड्ने घोषणा गरे ।
तर, क्षणिकको आवेश धेरै दिन कहाँ टिक्न सक्थ्यो र ! केही दिनमै उनले फिल्मको रिलिज सारेर छठको विदा लक्षित गर्दै कात्तिक १५ मा पुर्याए । तर, यो मिति पनि ‘लभ डायरीज’ को नाममा रहेनछ । सोही मितिमा अभिनेता सुशीलको अर्को फिल्म ‘बादशाह जुट’ प्रदर्शनमा आउँदैछ । आफ्नै हिरोको फिल्मसँग नजुध्ने भन्दै निर्देशक चौधरीले फिल्मको रिलिज पुनः पोस्टपोन्ड गरेका छन् । तर, नयाँ मिति घोषणा गरिएको छैन ।
प्राप्त जानकारी अनुसार, ‘लभ डायरीज’ लाई आउँदो मंसिर १३ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । तर, अझै फिल्मको प्रदर्शनलाई लिएर निर्माता र वितरकबीच छलफल भइरहेको छ । उक्त फिल्म प्रदर्शन नहुँदा अभिनेता सुशील निकै निराश छन् । आफ्नो सुस्ताएको फिल्मी करिअर यो फिल्मले चम्काउने आशामा छन्, उनी । तर, फिल्मको रिलिज कुर्दाकुर्दै उनको बाक्लो कालो दाह्री पनि फूल्ने बेला भइसक्यो । क्या तनाव ।

