नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीलाई बौद्धिक अभिनेत्रीको रुपमा चिनिन्छ । विभिन्न विषयमा उनले राख्ने गहन विचारले धेरैलाई एकपटक सोच्न बाध्य बनाउँछ । तर, उनको फिल्मी करिअर भने उत्ति साह्रो सुखद छैन । उनी नेपाली फिल्ममा आबद्ध भएको करीब एक दशक वितिसकेको छ । अहिलेसम्म उनले दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, बक्सअफिसमा कुनै सफल भएनन् ।
फिल्म असफल भए पनि उनी काम विहीन भने कहिल्यै हुनु परेन । सानातिना बजेटका फिल्म उनले बाक्लै पाउँदै आएकी छन् । लिड रोलदेखि केमियो रोलसम्म सबै गरिसकेकी उनलाई एक समय नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा हेरिएको थियो । उम्दा अभिनयका कारण दर्शकको मनमा डेरा जमाएकी उनले गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिँदा लोभलाग्दो चार्म र स्टारडम धेरै समय टिकाइराख्न सकिनन् ।
 (2)(1).jpg)
गएको एक दशकमा सोलो अभिनेत्रीको रुपमा एउटा सुपरहिट फिल्म दिन नसकेकी उनलाई हाल हलमा प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ ले भने ठूलो राहत दिएको छ । यो फिल्मले प्रदर्शनको दिनदेखि बक्सअफिसमा राम्रो पैसा छापेको छ । अभिनेता दीपकराज गिरीको अपोजटमा अभिनय गरेकी उनको अभिनयको पनि प्रशंसा भइरहेको छ । पहिलो हप्ताको कमाईबाट यो फिल्मको लगानी सुरक्षित हुने देखिन्छ ।
एक दशक लामो फिल्मी करिअरमा पहिलो पटक सफलताको स्वाद चाख्ने अवसर पाएकी केकी ‘छ माया छपक्कै’ ले अबको यात्रा सहज बनाउनेमा विश्वस्त छिन् । सायद, यो फिल्मले बक्सअफिमा पैसाको वर्षात गरिरहँदा उनी जति खुसी अरु कोही छैन होला ! किनकि, उक्त फिल्मले उनको फ्लपको श्रृंखलामा पूर्णविराम लगाएको छ । २४ वटा फ्लप फिल्मपछि उनले पहिलो पटक सोलो अभिनेत्रीको रुपमा हिट फिल्म दिएकी छन् ।
तर, उनी आफ्नो २४ वटा फिल्म फ्लप भए पनि आफूलाई भाग्मानी मान्छिन् । उनी भन्छिन्, ‘छ माया छपक्कै’ मेरो २५ औं फिल्म हो । मेरा २४ वटा फिल्म फ्लप भए । संसारमा २४ वटा फिल्म फ्लप भएर पनि कुनै अभिनेत्री टिक्छ भने त्यो भाग्यमानी हो । त्यसमा म पर्छु । संसारमा म जति लक्की अरु कोही छैन जस्तो लाग्छ ।’ हुन पनि, लगातार २४ वटा फ्लप फिल्म दिएर पनि आफूलाई टिकाइराख्नु चानचुने कुरा होइन ।

