Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पोइ पर्‍यो काले’ प्रति आशावादी पूजा र आकाश

फिल्मीखबर, काठमाण्डौ, 2019/10/16
ठूलो पर्दामा निकै रुचाइएको जोडी हो- अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ । फिल्म ‘रामकहानी’ मा पहिलो पटक दुईले स्क्रिन साझेदारी गरेका थिए । यो फिल्मले बक्सअफिसमा सुखद व्यापार गर्‍यो । साथै, पूजा र आकाशको जोडीलाई दर्शकले औधी रुचाए । यही कारण हुनसक्छ, अहिले एकपछि अर्को फिल्म उनीहरुले एकसाथ गरिरहेका छन् । दुईको प्रमुख भूमिका रहेको नयाँ फिल्म ‘पोइ पर्‍यो काले’ आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
सम्भवतः यसै वर्ष पूजा र आकाशको प्रमुख भूमिका रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शनमा आउनेछ । चाँडै दुईले नयाँ फिल्म गर्न लागेको पनि चर्चा छ । तर, यस विषयमा औपचारिक जानकारी प्राप्त भएको छैन । दर्शकले निकै रुचाएका कारण यो जोडीलाई फिल्ममा लिन निर्माताबीच ठूलै हानाथाप हुने गरेको छ । यसैले हुनसक्छ, उनीहरु चाहेर पनि अलग भएर फिल्म गर्न सकेका छैनन् । जसले गर्दा बजारमा दुईको प्रेम चर्चा चल्न थालेको छ । 
 
 
तर, उनीहरु आफूको सम्बन्ध साथीभन्दा माथि नभएको दाबी गर्छन् । दुबै सिंगल रहेको र अहिले करिअरमा फोकस रहेको बताउँछन् । दुईले फिल्ममा एकअर्कालाई सिफारिस गर्ने गरेको पनि चर्चा छ । यो पनि पूजा र आकाश स्वीकार गर्ने पक्षमा छैनन् । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ लाई लिएर उत्साहित पूजा र आकाश फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् । फिल्मको कथा मन परेर काम गर्न राजी भएको दुईको बोली छ । 
 
यस फिल्ममा पूजा र आकाशको जोडी बाँधिएको छ वा छैन ? भन्ने कुरा अहिलेसम्म निर्माण टिमले गोप्य राखेको छ । ट्रेलरमा देखाइएअनुसार, पूजालाई कालो वर्णको सौगात मल्लले मन पराउँछन् । सौगातलाई भने सृष्टि श्रेष्ठले मन पराउन थाल्छिन् । उता, आकाश सृष्टिको सुन्दरतामा घायल भएका छन् । पूजा भने मन मनै आकाशको प्रेममा डुब्दै गएकी छन् । कन्फ्यूजनले भरिएको ट्रेलरले फिल्ममा ‘को-कसको जोडी’ भन्ने अनुमान लगाउन गाह्रो पर्छ । 
 
पूजा र आकाश पनि फिल्ममा ‘को-कसको जोडी’ भन्ने थाहा पाउन हलसम्म पुग्ने पर्ने बताउँछन् । फिल्म पूर्ण रुपमा कमेडी र सामाजिक कथामा बनेको उनीहरुको भनाई छ । फिल्मको मूल कथा अभिनेता सौगात मल्लको वरिपरि घुमेको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । युट्युबमा सार्वजनिक गीतसंगीत र ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरेको छ । 
Most Visited News (monthly)