
बलिउड हुँदै हलिउडसम्मको यात्रा तय गरिसकेकी अभिनेत्री प्रियंका चोपडाको नयाँ फिल्म ‘द स्काई इज पिंक’ बक्सअफिसमा खरो उत्रन सकेको छैन । करीब ५० करोडको लागतमा बनेको फिल्मले सुरुवाती तीन दिनमा १० करोड ७० लाखको मात्र व्यापार गर्यो । एक मध्यम बजेटको फिल्मको यो खराब प्रदर्शन हो । दिन-प्रतिदिन फिल्मको व्यापारमा गिरावट आइरहेको छ ।
प्रियंका चोपडा गएको लामो समयदेखि अमेरिकामा थिइन् र हलिउड फिल्म ‘बेवाच’ र अमेरिकन टिभी शो ‘क्वान्टिको’ को छायांकनमा व्यस्त थिइन् । पछिल्लो पटक उनी भारतीय फिल्म ‘गंगाजल’ मा देखिएकी थिइन् । जुन करीब तीन वर्ष अगाडि प्रदर्शनमा आएको थियो । बलिउडमा प्रियंकाको कमब्याक यतिसम्म दयनिय हुन्छ भन्ने कसैले अनुमान पनि लगाएका थिएनन् ।
बलिउड सुपरस्टार सलमान खानको प्रमुख भूमिका रहेको फिल्म ‘भारत’ बाट प्रियंका बलिउडमा कमब्याक गर्ने तयारीमा थिइन् । तर, अन्तिम समयमा विवाहको कारण देखाउँदै उनले हात झिकिन् । उनले अन्तिम समयमा अचानक फिल्म नगर्ने फैसला लिएपछि निर्माता र सलमान निकै रिसाएका थिए । उनले ‘भारत’ नगर्ने भएपछि अभिनेत्री कैटरीना कैफको प्रवेश भएको थियो ।
बलिउडबाट टाढा हुँदै गएकी प्रियंकालाई ‘द स्काई इज पिंक’ असफल हुँदा ठूलो धक्का लागेको छ । उनको स्टारडम कमजोर भएको टिका-टिप्पणी हुन थालेको छ । भारत छाडेर विदेश जानु र भारतमा एक स्थापित अभिनेत्री हुँदा-हुँदै हलिउडमा नयाँ सुरुवात गर्न खोज्नु उनको फैसला गलत देखिएको छ । ‘भारत’ छाडेर इमोसनल थीमको फिल्म गर्नु पनि उनलाई राम्रो देखिएन ।

