फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रपति विद्यादेवी भण्डारको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड चुमेपछि चर्चामा रहेकी अभिनेत्री स्वस्तिमा खड्काको नयाँ फिल्म ‘घामड शेरे’ आउँदो कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनले पहिलो पटक श्रीमान् निश्चल बस्नेतसँग अनस्क्रिन रोमान्स गरेकी छन् ।
फिल्ममा स्वस्तिमा र निश्चल साली र भेनाको भूमिकामा छन् । सोमबार राजधानीमा एक कार्यक्रमका बीच यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । जहाँ निश्चल र स्वस्तिमालाई बच्चाको विषयमा पत्रकारको प्रश्न सोझियो । ‘डमरुको बाबा कहिले बन्छ त शेरे ?’ फिल्ममा शेरे पात्रको भूमिकामा रहेका निश्चललाई पत्रकारले प्रश्न गरे । तर, उनी जवाफ दिन हिचकिचाए ।
 (1).jpg)
उनको छेवैमा रहेकी स्वस्तिमाले माइक लिँदै भनिन्, ‘हाम्रो डमरु ढिला आउँछ तर कडा आउँछ ।’ उनको जवाफले कार्यक्रम हल हाँसोले गुञ्जियो । निश्चल पनि मुस्कुराए । ‘निश्चलजी घामड चाहिँ कति हुनुहुन्छ ?’ पत्रकारले स्वस्तिमालाई सोधे । यसको जवाफ दिन भने उनले समय लगाइन् । ‘फिल्ममा जस्तो घामड चाहिँ हुनुहुन्न । एकदमै बुझकी हुनुहुन्छ । हाम्रो केही कुरामा हुनुहुन्छ होला तर अरुसँग चाहिँ हुनुहुन्न’, उनले भनिन् ।
‘त्यसो भए शेरसिंह चाहिँ कति हुनुहुन्छ ?’ पत्रकारकोे अर्को प्रश्नमा उनले भनिन्, ‘अरुसँग चाहिँ स्यालसिंह मसँग चाहिँ शेरसिंह हुनुहुन्छ ।’ उनको जवाफले छेवैमा रहेका निश्चलले पनि हाँसो रोक्न सकेनन् । स्वस्तिमाले घरमा दुबैजना शेरसिंह रहेको पनि थपिन् । हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ लिएर आफूहरु निकै उत्साहित रहेको दुईको भनाई छ । फिल्मको ट्रेलरलाई अहिले यूट्युबमा सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

