Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मुस्लिम समुदायसँग ‘बादशाह जुट’ टिमले माफी माग्यो

फिल्मीखबर, काठमाण्डौ, 2019/10/14
कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’ ले मुस्लिम समुदायसँग क्षमायाचना गरेको छ । केही हप्ता अगाडि सार्वजनिक ट्रेलर जातिय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातिय हिंसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण हुने खालको भएको भन्दै असोज २५ गते नेपाल मुस्लिम संघले फिल्मको निर्माण कम्पनी एच एण्ड वि फिल्मस्लाई पत्रचार गरेको थियो । 
 
 
ट्रेलरमा रहेको विवादित दृश्य हटाउन संघले माग गरेको थियो । सोही पत्रको जवाफमा निर्माण कम्पनी एच एण्ड वि फिल्मस्ले ट्रेलरमा राखिएको केही दृश्य तथा ध्वनीले मुस्लिम समुदायमाथि अपमान भएको भनि उठेको टिप्पणीलाई गम्भीर रुपमा लिएको एक विज्ञप्तीमार्फत् जनाएको छ । निर्देशक जोनी सिंह राणा र निर्माता भोजराज श्रेष्ठ हस्ताक्षरित विज्ञप्तीमा ट्रेलरमा समावेश दृश्यले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा क्षमायाचना गरिएको छ । 
 
‘ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको आवाज र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ.एस.एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माण पक्ष क्षमाप्रार्थी छौं’, फिल्मको निर्माण टिमले जारी गरेको विज्ञप्तीमा अगाडि भनिएको छ, ‘यस फिल्मको कथा वा दृश्यले नेपाल भित्र वा बाहिर रहेका कुनै पनि समुदाय, धर्म तथा संस्कृतिलाई कुनै किसिमको अपमान गर्न खोजेको छैन ।’ 
 
 
यसै सन्दर्भमा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग भेट गरि गम्भीर छलफल गरिएको पनि विज्ञप्तीमा भनिएको छ । अध्यक्ष अन्सारीसँगको छलफलपश्चात् आवश्यक कुराहरु सच्याउने निर्णयमा निर्माण टिम पुगेको छ । तर, ट्रेलर हेरेर लगाइएको अनुमान फिल्म हेरेपछि विल्कुलै फरक पाउने विज्ञप्तीमार्फत् निर्माण टिमले दाबी गरेको छ । त्यस्तै, ‘बादशाह जुट’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ । 
 
अब यो फिल्म हेर्नका लागि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावक लिएर हल जानुपर्नेछ । २ घण्टा ३ मिनेट लम्बाईको फिल्म आफूलाई बादशाह सम्झने दुई युवकको कथामा आधारित छ । फिल्ममा सुशीलसँगै आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डेलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको मूलकथा सुशील र आमिरको वरिपरि घुमेको छ । फिल्ममा सुशील पत्रकार र आमिर हवल्दारको भूमिकामा छन् ।
 
 
 
‘बादशाह जुट’ मा अतिथी भूमिकामा प्रियंका कार्की छिन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन छ । प्रदर्शन मिति नजिकिँएसँगै अहिले निर्माण टिमले फिल्मको प्रचार आक्रामक बनाइरहेको छ । करीब २ वर्षपछि पर्दामा देखिन लागेका अभिनेता सुशील यो फिल्ममा आफ्नो भूमिका विल्कुलै फरक रहेको बताउँछन् ।
Most Visited News (monthly)