यतिबेला नेपालीहरुको घर आँगनमा दशैँ भित्री सकेको छ । कतिले दशैँका लागि सरसामान समेत बन्दोबस्त गरिसकेका छन् । कति दशैँ मान्न गाउँघर फर्कन थालिसकेका छन् । कति देशविदेश घुम्ने योजनामा छन् । सेलिब्रेटीहरुलाई पनि दशैँको रोनकताले राम्रै छोएको छ । राजधानीभन्दा बाहिर घर हुने कलाकारहरु अहिले धमाधम दशैँ मनाउन घर-गाउँ निस्किरहेका छन् ।

अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का भने काठमाडौं उपत्यकामा नै जन्मे हुर्केका हुन् । गत वर्ष काकाको निधन भएका कारण टीका लगाउन नपाएका उनी यस वर्षको दशैँ विशेष तरिकाले मनाउने तयारीमा छन् । वर्षौदेखि भेट नभएका आफन्त र साथीभाईसँग दशैँमा भेट हुन पाउने कुराले उनलाई अहिले नै रोमान्चित बनाएको छ । दशैँ सबैभन्दा मनपर्ने चाड बताउने प्रदीपसँग फिल्मीखबरले गरेको दशैँ संवाद :-
१. बाल्यकालको दशैँ कति रमाइलो हुन्थ्यो ?
हाम्रो सानो परिवार । दशैँमा टिका लगाउन मामा घर मात्र गइन्थ्यो । वर्षमा एकपटक मामा घर जान पाउँदा निकै खुसी हुन्थेँ । अहिलेको दशैँभन्दा बाल्यकालको दशैँ खुबै रमाइलो हुन्थ्यो ।
२. बाल्यकालमा आर्शिवाद प्यारो हुन्थ्यो कि दक्षिणा ?
बाल्यकालमा प्यारो हुने भनेकै दक्षिणा हो । मेरो त बहिनीसँग प्रतिस्पर्धा नै हुन्थ्यो कसले कति पायो भनेर । छोराहरुलाई अलि कम दिने चलन भएका कारण बहिनीको भन्दा मेरो पैसा कम हुन्थ्यो । त्यसबेला साह्रै नरमाइलो लाग्थ्यो ।
३. अहिलेसम्म सबैभन्दा धेरै दक्षिणा कति पाउनु भएको थियो ?
मधुरो सम्झना मात्र छ । जहाँसम्म मलाई याद छ सबैभन्दा धेरै दक्षिणा बाल्यकालमा १ हजारसम्म पाएको थिएँ । मामाले दशैँमा प्रायः मलाई हजार रुपैयाँ दिनुहुन्थ्यो । अरुले सय रुपैयाँ चाहिँ छुटाउनुहुन्न थियो ।
४. साधारण मानिसले मनाउने दशैँ र एउटा स्टार नायकले मनाउने दशैंमा फरक हुन्छ ?
फरक हुन्छ जस्तो त लाग्दैन मलाई । किनभने, दशैँ मनाउने भनेको आफन्त र साथी-भाईहरुसँग हो । आफन्त र साथी-भाईले देखिरहेको मान्छेलाई के स्टार के न स्टार । मेरो परिवारमा सबै फिल्मभन्दा बाहिरको मान्छे हुनुहुन्छ । त्यसैले उहाँका लागि म हिरो हो वा होइन भन्ने कुराले अर्थ राख्दैन ।
५. दशैँमा तासमा कत्तिको रमाउनुहुन्छ ?
मलाई तास खेल्न खासै आउँदैन । फलाँस चाहिँ हल्काफुल्का खेल्छु । तर, तालको अरु खेल आउँदैन । मलाई म्यारिज सिक्न चाहिँ खुब मन छ । यो दशैँमा सिक्ने प्रयास गर्छु ।

