Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जान्नुहोस्, बाल्यकालमा सेलिब्रेटीको दक्षिणा पाउँदाको क्षण

फिल्मीखबर, काठमाडौं, 2019/10/05
अहिले सारा नेपालीलाई दशैंको रौनकले छोएको छ । कोही नीलो आकाशमा रंगीचंगी चंगा उडिरहेका छन् । कोही पिङमा मच्चिएर स्वर्णिम आनन्द महशुस गरिरहेका छन् । शहरमा अस्थायी बसोबास गर्नेहरु धमाधम घर-गाउँ फर्किरहेका छन् । घर-आँगन सफा बनाइएको छ । घरका भित्ताहरु रंगले दुलहीझैँ सिंगारिएका छन् । हरेक घरको भान्सामा थरिथरिका परिकार पाकिरहेका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैं आएको छ ।
 
नेपालीहरुको महान चाड दशैंले आम सर्वसाधारणलाई मात्र होइन सेलिब्रेटीलाई पनि राम्रैसँग छाएको छ । राजधानीमा अस्थायी बसोबास गर्ने सेलिब्रेटीहरु पनि अहिले धमाधम घर-गाउँ फर्किरहेका छन् । कोही राजधानीमै परिवारसँग दशैं मनाउँदैछन् । भने, कोही दशैं विदामा विभिन्न ठाउँ घुम्ने तयारीमा छन् । दशैंमा आफूभन्दा ठूलाबडा तथा मान्यजनका हातबाट टीका जमरा ग्रहण गरी आर्शिवाद थाप्ने गरिन्छ । साथै, दशैंमा आर्शिवादसँगै दक्षिणा पनि महत्वपूर्ण मानिन्छ । 
 
बाल्यकालमा दक्षिणा पाउँदाको क्षण कुन सेलिब्रेटीको कस्तो रह्यो ? यो प्याकेजमा हामी चर्चा गर्दैछौं । चाँडै श्रीमान् दीवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘तिमीसँग हुने मन छ’ मा काम गर्ने लागेकी अभिनेत्री दीपिका प्रर्साइँले दशैंमा काका-कार्कीबाट बाल्यकालमा सबैभन्दा धेरै दक्षिणा पाएकी रहेछिन् । ‘मेरो घरमा धेरै दक्षिणा दिनुभएको थियो । काका-कार्कीबाट २५ सय पाएकी थिएँ । त्यतिधेरै दक्षिणा पाएपछि फुरुङ्ग भएकी थिएँ’, उनले भनिन् । 
 
 
त्यस्तै, असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छ माया छपक्कै’ को पखाईमा रहेका चर्चित हास्यकलाकार केदार घिमिरेले सबैभन्दा धेरै दक्षिणा ससुरालीमा पाएको बताउँछन् । तर, उनी आफूले पहिलो पटक पाएको सबैभन्दा धेरै दक्षिणा खुलाउन चाहँदैनन् । अभिनेत्री आँचल शर्माले भने बाल्यकालमा सबैभन्दा धेरै दक्षिणा गुरुआमाको हातबाट पाएकी रहेछिन्, २ हजार । पहिलो पटक त्यतिधेरै दक्षिण पाउँदा आफू दंग भएको उनको भनाई छ । 
 
 
‘सुर्के थैली खै ?’, ‘चरी चट्ट परी’, ‘कुटुमा कुटु’, ‘गोजीमा दाम छैन’, ‘कम्पनी माला’ लगायतका गीतका गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीलाई दशैंमा टिका लगाएर सानोमा कान्छा मामाले २० रुपैयाँ दिएको सम्झना छ । ‘सबैभन्दा धेरै दक्षिणा मामा घरमा पाइन्थ्यो । मलाई सानो छँदा नै कान्छा मामाले २० रुपैयाँ दिनुभएको थियो । यो म कहिल्यै विर्सन नसक्ने दक्षिणा हो । किनभने, सबैभन्दा धेरै दक्षिण मैले त्यतिबेला पाएको हुँ’, उनले सम्झिए ।  
 
यसै वर्ष बैबाहिक जीवनमा बाँधिने तयारीमा रहेकी भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेकी ऋचा शर्मा बाल्यकालमा आर्शिवादभन्दा दक्षिणाको लोभ हुने गरेको सम्झन्छिन् । तर, अहिले आर्शिवादको लोभ हुने गरेको उनको भनाई छ । बाल्यकालमा पाएको सबैभन्दा धेरै दक्षिणा स्मरण गर्दै उनी भन्छिन्, ‘पहिलाको जस्तो दक्षिणा पाउनुपर्छ भन्ने लाग्दैन । मलाई सानैमा बुबाले ५ सय रुपैयाँ दिनुभएको थियो । यो त्यतिबेला निकै ठूलो रकम थियो ।’ 
 
 
सदाबहार अभिनेत्री करिश्मा मानन्धरले हरेक वर्षको दशैं आफूले मामा घरमा मनाउने गरेको सम्झन्छिन् । ‘भान्जी भएकाले मलाई मामा घरमा खुब माया गर्नुहुन्थ्यो । टिका लगाएर धेरै दक्षिणा पनि पाउँथेँ । पैसा पाएपछि म मख्ख पर्थें’, उनले भनिन् । उनलाई बाल्यकालमा पाएको सबैभन्दा धेरै दक्षिणा भने याद रहनेछ । हस्यकलाकार कुञ्जना घिमिरे बाल्यकालमा ठूलाबडाको हातबाट टिका र आर्शिवाद थापेपछि खाम हेर्न हतार हुने सम्झन्छिन् । 
 
 
‘लुट’ सिरिजका निर्देशक र अहिलेका चल्तीका अभिनेता निश्चल बस्नेत पनि बाल्यकालमा दक्षिणाको लोभले ठूलाबडाको हातबाट टिका थाप्ने गरेको सम्झन्छन् । उनी बाल्यकालमा छोरीहरुलाई टन्नै पैसा दिएपनि आफूले नपाउँदा नरमाइलो लाग्ने गरेको सम्झन्छन् । ‘अरुले गोजीमा पैसा बोकेको देखेपछि मलाई मामाघर जाऔं जाऔं लाग्थ्यो । अनि टीकाकै दिन मामाघर हिँड्थेँ’, उनले भने । निर्देशक दीपाश्री निरौला सानोमा दक्षिणासँगै खसी किन्न खुब कर गर्ने गरेको सम्झन्छिन् ।
 
Most Visited News (monthly)