‘बक्सअफिसका हिट मेशिन’ भनिने अभिनेता अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म ‘होस्टेल’ को नेम सिक्वेलबाट अभिनयमा डेब्यू गरेका सिक्स प्याक हिरो सुशील श्रेष्ठले अहिलेसम्म सफलतासँग साक्षात्कार गर्न पाएका छैनन् । उनको डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’ र दोस्रो फिल्म ‘कारखाना’ दुबै बक्सअफिसमा डिजास्टर साबित भएका थिए । जसले गर्दा उनीमाथि गिनेचुनेका ब्यानरको आँखा पर्न सकेको छैन ।
लगातार दुई फिल्म असफल भएपछि उनी केही समय फिल्मबाट टाढा हुने निर्णयमा पुगेका थिए । तर, त्यही बेला उनको हातमा फिल्म सौरभ चौधरीको फिल्म ‘लभ डायरीज’ पर्यो । स्क्रिप्ट राम्रो लागेपछि काम गरे । यो फिल्म रिलिज भएपछि मात्र अर्को फिल्म गर्ने मनस्थितिमा रहेको बेला उनलाई फिल्म ‘बादशाह जुट’ बाट अफर भयो । यो फिल्मको पनि स्क्रिप्ट राम्रो लागेपछि उम्काउन चाहेनन् ।
तर, यी दुई फिल्म निर्माण भएको लामो समयसम्म प्रदर्शनमा आउन सकेका छैनन् । कहिले ठूला ब्यानरका नेपाली फिल्म त कहिले विदेशी फिल्मका कारण ‘लभ डायरीज’ र ‘बादशाह जुट’ ले थुप्रै पटक घोषणा गरेको मिति छाडिसकेको छ । गत वर्ष नै प्रदर्शनमा आउने तयारीमा रहेका सुशीलका यी दुई फिल्म यस वर्ष पनि प्रदर्शन हुने वा नहुनेमा अन्योलता छ । किनकि, दुई फिल्मले अझै प्रदर्शन मिति छाड्न रोकेका छैनन् ।
(1).jpg)
गत वर्षको पुष १३ मा ‘बादशाह जुट’ आउने निश्चित भएको थियो । तर, विभिन्न कारणले पोस्टपोन्ड भयो । त्यसपछि आउँदो कात्तिक १ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरियो । तर, असोज २४ मा आउने फिल्म ‘छ माया छपक्कै’ को चेपुवामा पर्ने डरले फिल्म कात्तिक १५ मा पुग्यो । अब भने फिल्मको प्रदर्शन मिति हेरफेर नहुने जोनी सिंह राणाले दाबी गरेका छन् । सोमबार फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
‘बादशाह जुट’ ले घोषणा गरेको नयाँ मितिमा यसअघि नै सुशीलको अर्को फिल्म ‘लभ डायरीज’ आउने तय भइसकेको छ । तर, दुई निर्माताबीच भएको आपसी समझदारी पश्चात् ‘लभ डायरीज’ को प्रदर्शन मिति केही समय पछाडि धकलिएको जानकारी प्राप्त छ । यद्यपि, कहिलेसम्म निर्माण टिमले यस विषयमा कुनै जानकारी दिएका छैनन् । दुई फिल्मको भद्रगोल प्रदर्शन मितिबाट अभिनेता सुशील पनि तनावमा रहेछन् ।
सोमबार ‘बादशाह जुट’ को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘एउटा फिल्मको न्यूज सेयर गर्यो अर्को फिल्मको रिलिज पोस्टपोन्ड हुन्छ । अर्को फिल्मको प्रदर्शन मिति घोषणा भएको न्यूज सेयर गर्यो अर्को फिल्मको रिलिज सर्छ । यो तनावले मैले न्यूज नै सेयर गर्न छाडेको थिएँ । सामाजिक सञ्जालमा फ्यानहरुले तपाईंको फिल्मको न्यूज मात्र आउँछ फिल्म चाहिँ कहिले आउँछ भनेर सोध्ने गर्नुहुन्छ ।’
उनले अहिले भने आफू फिल्मको प्रदर्शन मितिलाई लिएर तनाव मुक्त भएको बताए । निर्देशक सौरभ चौधरीले ‘बादशाह जुट’ प्रदर्शन भएपछि ‘लभ डायरीज’ को प्रदर्शन मिति घोषणा गर्ने बताएपछि आफूलाई राहत मिलेको उनी बताउँछन् । अभिनेता सुशील दुबै फिल्मलाई लिएर निकै उत्साहित छन् । ‘बादशाह जुट’ मा उनले आफूलाई बादशाह सम्झने एक पत्रकारको भूमिका निभाएका छन् ।
..........................................................................................................................
विज्ञापन ::

