कलाकारबीच खासै सुमधुर सम्बन्ध हुँदैन भन्ने गरिन्छ । प्रायः कलाकारको सम्बन्ध त ३६ को आँकडामा हुन्छ । केहीले भने मिडियाको अगाडि घनिष्ट सम्बन्ध देखाउँछन् तर वास्तविकतामा ठिक विपरित हुन्छ । नेपाली फिल्म क्षेत्रमा देखावटी मित्रताको नाटक गर्ने कलाकारहरुको ठूलो भीड छ । तर, केही कलाकारको मित्रतालाई भने उदाहरणको रुपमा पनि लिने गरिएको छ ।
सार्वजनिक कार्यक्रममा जम्काभेट हुँदा एकअर्काप्रति घनिष्ट सम्बन्ध देखाउन नेपाली कलाकारहरु खप्पिस छन् । चाहे वास्तविकतामा 'पानी बाराबार' को सम्बन्ध किन नहोस् ! केही दिन अगाडि राजधानीमा ‘रमाइलो टिभी’ को एक कार्यक्रममा चकलेटी अभिनेता आर्यन सिग्देलसँग अहिलेका चल्तीका दुई अभिनेता प्रदीप खड्का र पुष्प खड्काको जम्काभेट भयो ।

भेटको क्रममा तीनै अभिनेताले अंगालो मारेर तस्बिर खिचाए । तस्बिरमा यी तीन अभिनेता निकै खुसी मुद्रामा देखिएका छन् । तस्बिरले यी तीन चकलेटी हिरोबीच सुमधुर सम्बन्ध रहेको प्रस्ट्याउँछ । तर, यो उनीहरुको पहिलो भेट हो । उक्त कार्यक्रममा आर्यन, प्रदीप र पुष्पबीच केही मिनेट फिल्म र व्यक्तिगत जीवनबारे पनि कुराकानी भएको जानकारी प्राप्त छ ।
एक दशक अगाडि अभिनेता आर्यन सिग्देलको नेपाली फिल्ममा एकलौटी राज थियो । उनको टाउको पोस्टरमा राखेपछि फिल्म हिट हुने विश्वास मेकरमा थियो । तर, केही वर्षयता उनको स्टारडमले हलमा दर्शक तान्न छाडेको छ । जब उनको स्टारडम भुत्ते हुँदै गयो तब नेपाली फिल्ममा भित्रिएका अभिनेता हुन्, प्रदीप । अहिले उनलाई एक समयको आर्यन सिग्देल भन्ने गरिएको छ ।
फिल्ममा प्रदीप र पुष्पको प्रवेश भने लगभग एकै समयमा भएको थियो । ‘अझै पनि’ बाट डेब्यू गरेका पुष्पले फिल्म ‘दर्पण छाँया २’ बाट लिड रोलमा ब्रेक पाएका थिए । तर, उनलाई फिल्म ‘मंगलम’ ले लाइमलाइटमा ल्यायो । आर्यन, प्रदीप र पुष्पको पहिलो पटक भएको भेटपछि दर्शकमा यी तीनै हिरोलाई एकसाथ पर्दामा हेर्ने इच्छा जागेको छ । पूरा होला त दर्शकको इच्छा ?
..............................................................................................................................................
विज्ञापन::

