लामो समयपछि अभिनयमा कमब्याक गरेका अभिनेता भुवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’ को दशैं लक्षित गीत ‘हे मेरा परदेशी दाजु भाई’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा धन कमाउनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुको पीडा दर्शाइएको छ । गीतले वर्तमान नेपालको पट्यारलाग्दो अवस्थाको वर्णन गर्छ ।

फिल्मभित्र समावेश केही चल/अचल दृश्यहरु समावेश गरिएको सार्वजनिक गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ । फिल्ममा अभिनेता भुवन डबल रोलमा छन् । उनीसँगै फिल्ममा सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको अभिनय छ ।
देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रेमराज दाहालको लगानी छ । फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । परदेशमा रहेपनि मन त तेपाली नै हुन्छ भन्ने कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । ‘मिस्टर नेपाली’ मा अभिनेता भुवनले पिता र छोराको भूमिका निभाएका छन् ।
कात्तिक २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मले राष्ट्रियता र प्रेमको कथा भन्ने बताइएको छ । भुवनले लामो समयपछि कमब्याक गरेका कारण यो फिल्मको दर्शकलाई व्यग्र प्रतिक्षा छ । एक समय नेपाली फिल्ममा बलियो साम्राज्य बनाएका उनी पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा सक्रिय छन् । उनी चाँडै फिल्म ‘एन्टी हिरो’ मा पनि देखिँदैछन् ।
गीत हेर्नुहोस् :-

