Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीका लागि किन चल्नुपर्छ ‘रातो टिका निधारमा’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/09/26
नेपाली फिल्मकी लिडिङ एक्ट्रेस हुन्, साम्राज्ञी आरएल शाह । सिंगो फिल्म आफ्नो काँधमा बोकेर हिँड्न सक्ने अभिनेत्री हुन्, उनी । त्यसैले नेपाली फिल्ममा उनको माग चर्को छ । मागअनुसार उनको पारिश्रमिक पनि कम महँगो छैन । एक फिल्मका लागि १६ लाखसम्म बुझ्ने गरेकी छन् । उनको स्टारडमलाई हेरेर निर्माताहरु यो रकम तिर्न खासै सोच्दैनन् । उनलाई लिएपछि फिल्म सफल हुने विश्वास मेकरमा छ ।
 
अभिनेतामा अहिलेका 'हटकेक' अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ बाट सानदार डेब्यू गरेकी उनको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ थियो । दुबै फिल्मले बक्सअफिसमा मनग्य पैसा छापे । र, उनको स्टारडम पनि उत्कर्षमा पुग्यो । अहिलेसम्म उनी यी दुई फिल्मकै ब्याज खाएर बसेकी छन् । किनकि, त्यसपछि उनले गरेका कुनै फिल्मले निर्माता बचाएका छैनन् । न त उनले आफ्नो अभिनयको वाहवाही नै बटुल्न सकिन् ।
 
वर्षमा दुईभन्दा बढि फिल्म नगर्ने साम्राज्ञीको गएको दुई वर्षमा ‘कायरा’, ‘तिमीसँग’ र ‘इन्टु मिन्टु लण्डनमा’ गरि तीन फिल्म प्रदर्शनमा आए । गएको महिना उनको नयाँ फिल्म ‘मारुनी’ प्रदर्शनमा आएको थियो । तर, यी चारै फिल्म बक्सअफिसमा असफल ठहरिए । यद्यपि, चार फिल्ममध्ये ‘इन्टु मिन्टु लण्डनमा’ ले केही हदसम्म राम्रो व्यापार गरेको थियो । तर, घरेलु बजारबाटै लगानी उठाउन भने सकेन । ओभरसिजको कमाईले निर्माता सुरक्षित भएका थिए । 
 
एकपछि अर्को फिल्मको असफलताले साम्राज्ञीको स्टारडममाथि प्रश्न उठ्न थालेको छ । यसबीच, उनको नयाँ फिल्म ‘रातो टिका निधारमा’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनी पहिलो पटक गाउँले भूमिकामा देखिएकी छन् । अशोक शर्मा निर्देशित फिल्ममा उनले नव-अभिनेता अंकित शर्मासँग रोमान्स गरेकी छन् । अंकित निर्देशक शर्माका छोरा हुन् । यो फिल्मलाई लिएर साम्राज्ञी निकै आशावादी छिन् ।
 
 
‘रातो टिका निधारमा’ उनका लागि कुनै पनि हालतमा चल्नैपर्ने दबाब छ । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ पछि उनको खातामा सुपरहिट फिल्मको संख्या थपिन सकेको छैन । हिटभन्दा फ्लप फिल्मको धनी हुँदै गएकी उनलाई आफ्नो करिअर पुनः उत्कर्षमा फर्काउन यो फिल्मको सफलता निकै महत्त्वपूर्ण छ । फिल्म असफल भएको खण्डमा उनको स्टारडममाथि फेरि प्रश्न उठ्नेछ । जसले उनको करिअरमा असर गर्न सक्छ ।
 
अर्को भनेको, उनले अहिलेसम्म फिल्ममा गाउँले युवतीको भूमिका निर्वाहा गरेकी थिइनन् । डेब्यू फिल्म ‘ड्रिम्स’ देखि पछिल्लो रिलिज फिल्म ‘मारुनी’ सम्म उनी शहरिया युवतीको भूमिकामा देखिइन् । गएको डेढ वर्ष अगाडि निर्देशक अशोक शर्माले फिल्म ‘जय भोले’ अफर गर्दा उनले गाउँले रोल भएका कारण अस्वीकार गरेको भन्दै ठूलो हल्लाखल्ला भयो । यसले उनलाई विवादमा पनि ल्यायो । पछि दुबैले यसको खण्डन गरे ।
 
दर्शकको मस्तिष्कमा साम्राज्ञीले गाउँले भूमिका मन नपराउने छाप बसेको छ । र, हरेक फिल्ममा शहरिया युवतीको भूमिका निभाएका कारण उनलाई गाउँले भूमिका नसुहाउने टिका-टिप्पणी पनि भइरहेको छ । यी सबै कुरालाई गलत प्रमाणित गर्न उनका लागि यो फिल्मको सफलता एकदमै आवश्यक छ । त्यस्तै, एकपछि अर्को घटनाले निम्त्याएको विवादका कारण उनको क्रेज खस्किएको विश्लेषण समेत गर्न थालिएको छ ।
 
यसको जवाफका लागि पनि ‘रातो टिका निधारमा’ को व्यापारिक सफलता उनलाई महत्त्वपूर्ण मानिएको छ । गीतसंगीत र ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरेको छ । दशैंको घटस्थापनाको छेकोमा प्रदर्शन हुने भएकाले फिल्मले बक्सअफिसमा नाफाको व्यापार गर्ने फिल्म पण्डितहरुको अनुमान छ । तर, कुनै फिल्मको सफलता र असफलता त्यसको कन्टेन्टमा निर्भर रहन्छ । आशा गरौं, यो फिल्मले दर्शकको अपेक्षा पूरा गर्नेछ र साम्राज्ञीलाई राहत दिनेछ । 
 
----------------------------------------------------------------------------------------------------------------------------------------
विज्ञापन::
 
Most Visited News (monthly)