
बलिउड अभिनेता सैफ अली खानका पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । यसले उनको करिअरमा ठूलो धक्का पुगेको छ । तर, एकपछि अर्को फिल्म असफल भए पनि उनको व्यस्ततामा भने कुनै कमी आएको छैन । हातमा फिल्मको लस्कर छ । यसबीच, उनी चाँडै फिल्म ‘लाल कप्तान’ मा देखिँदैछन् । फिल्ममा उनी नागा साधुको रोलमा छन् ।
मंगलबार यो फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । जहाँ सैफलाई साधुको भेषमा देख्न सकिन्छ । उनको यो लुक्सले फिल्मप्रति दर्शकमा कौतुहलता बढाउने देखिन्छ । पोस्टरसँगै फिल्मको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ । फिल्म १८ अक्टोबरमा प्रदर्शन हुँदैछ । पहिला ‘लाल कप्तान’ ११ अक्टोबरमा रिलिज हुने निश्चित भएको थियो ।
फिल्म स्टार सैफ अली खान, ‘लाल कप्तान’ मा लिड रोलमा छन् । नितिन कक्कडको पनि अभिनय रहेको यो फिल्मको निर्देशन नवदीप सिंहले गरेका हुन् । आनन्द एल रायले निर्माण गरेको फिल्मको कथा दीपक वेङकेटेशले लेखेका हुन् । सैफ आफ्नो प्रोजेक्ट्सका कारण पछिल्लो समय चर्चामा छन् । वेब सिरिज ‘सेक्रेड गेम्स’ बाट उनले निकै वाहवाही बटुलेका छन् ।
प्राप्त जानकारी अनुसार, सैफ अली खानले केही समय अगाडि सम्झौता गरेको फिल्म ‘बन्टी और बबली २’ छाडेका छन् । यो फिल्ममा 'गली ब्वाई' एक्टर सिद्धान्त चतुर्वेदीले प्रमुख भूमिका निभाउँदैछन् । सेकेन्ड लिड भएका कारण सैफले फिल्मबाट हात झिकेको भारतीय मिडियाले बताएका छन् । उनले फिल्म नगर्ने निर्णय लिएपछि मेकर्सलाई ठूलो झट्का लागेको छ ।

