अहिलेका चल्तीका अभिनेता अनमोल केसीले नयाँ फिल्म साइन गरेका छन् । ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेन भुटियाको नयाँ फिल्ममा काम गर्ने उनले सम्झौता गरेका हुन् । फिल्मको नाम ‘धुपौरे’ जुराइएको छ । फिल्म डार्क एक्सन-लभस्टोरी जनरामा निर्माण हुने जानकारी प्राप्त छ । तिहारपछि छायांकन सुरु हुने यो फिल्मको मंगलबार दिउँसो लोगो सार्वजनिक गरिँदैछ ।
गत वर्ष फिल्म ‘अनागत’ को एक कार्यक्रममा निर्देशक भुटियाले आफूले नयाँ फिल्म अनमोललाई अफर गरेको खुलाएका थिए । सबै कुरा मिले टिमअप हुनसक्ने उनको भनाई थियो । अन्ततः ‘धुपौरे’ मा दुईबीच टिमअप भएको छ । फिल्ममा अहिलेसम्म अनमोलबाहेक अरु कलाकारको टुंगो लागेको छैन । अब बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

यो फिल्ममा अनमोलले ५० लाखको आसपासमा पारिश्रमिक बुझेको स्रोत बताउँछ । तर, यसबारेमा निर्माण टिमबाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेनको नयाँ फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ । ‘धुपौरे’ उनको ड्रिम प्रोजेक्ट बताइएको छ ।
गएको वर्ष प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर ३’ पछि अनमोलले बाहिरी ब्यानरको फिल्म साइन गरेका थिएनन् । उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘एन्टी हिरो’ गर्ने तयारीमा थिए । तर, यो फिल्मको छायांकन सुरु हुन केही ढिलाई हुने भएपछि उनले साम्तेनको ‘धुपौरे’ गर्न लागेका हुन् । केही दिनमा यो फिल्मको औपचारिक निर्माण घोषणा गरिँदैछ ।

