Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोराका लागि ‘रातो टीका निधारमा’ बनाएको होइन : निर्देशक शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2019/09/23
एक समय ‘ट्रक ड्राइभर’, ‘अल्लारे’, ‘गरिब’, ‘मितिनी’ लगायतका एकसेएक फिल्म दर्शकमाझ पस्किएका निर्देशक अशोक शर्मा गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ बाट १२ वर्षपछि फिल्म निर्देशनमा फर्किए । फिल्म वितरण कम्पनी ‘डिसीएन’ लाई स्थापित गर्न लामो समय फिल्म निर्माण र निर्देशनमा टाढा रहेका उनी अब प्रत्येक वर्ष फिल्म बनाउने सोचमा छन् । 
 
यस वर्षका लागि उनले ‘रातो टीका निधारमा’ लिएर आएका छन् । यो फिल्म उनका लागि निकै विशेष छ । किनकि, उनले आफ्नो छोरा अंकित शर्मालाई यही फिल्मबाट अभिनयमा डेब्यू गराएका छन् । फिल्ममा अंकितको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग जोडी बाँधिएको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको यो फिल्म असोज १० गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
यसपटक निर्देशक शर्मामाथि कम चुनौती छैनन् । यो फिल्म असफल भएको खण्डमा त्यसको प्रत्यक्ष असर अंकितको करिअरमा पर्छ । त्यसैले यो फिल्म चल्नैपर्ने चुनौती निर्देशक शर्मामाथि छ । नेपाली फिल्ममा अभिनेताको रुपमा अगाडि बढ्न अंकितको अभिनय रुचाउन पनि आवश्यक हुन्छ । फिल्मको व्यापारिक नतिजा र छोराको करिअरको चिन्ता अहिले निर्देशक शर्मालाई छ । 
 
 
उनले छोराका लागि ‘रातो टीका निधारमा’ निर्माण गरेको भन्दै अहिले विभिन्न खाले टिका-टिप्पणी पनि भइरहेका छन् । तर, उनी यो कुराको खण्डन गर्छन् । कथामा सुहाउने भएपछि मात्र छोरालाई अभिनय गराएको उनको भनाई छ । उनी भन्छन्, ‘म कसैका लागि भनेर फिल्म बनाउने व्यक्ति होइन । ‘रातो टीका निधारमा’ पनि छोराका लागि भनेर बनाएको होइन ।’ 
 
उनी अगाडि भन्छन्, ‘मलाई केमा खुसी लागेको छ भने अचेल छोरा-छोरीहरु विदेश पढ्न गएपछि नेपाल फर्किन मान्दैनन् । मेरा छोरा-छोरी भने अध्ययन सकेर नेपाल फर्किएका छन् । दुबैले फिल्मै ब्याचलर गरेका हुन् । नेपाल आएपछि दुबैमा फिल्मको कुन विधामा जाने भन्ने अन्योलतामा थियो । छोराले अभिनय रोज्यो । छोरीको पनि अभिनयमा रुची छ ।’
 
तर, अंकितलाई भने पहिला अभिनय गर्न मन रहेनछ । फिल्म ‘जय भोले’ मा सहायक निर्देशकको काम गरेपछि आफूलाई अभिनयमा रुची बढेको उनी बताउँछन् । अंकित भन्छन्, ‘स्कुलमा हुँदा स्टेजमा अभिनय त गरेको हुँ । अभिनयको तारिफ पनि हुन्थ्यो । यूनिभर्सिटी गएपछि भने मलाई फिल्म मेकिङप्रति झुकाव बढ्यो । फिल्म मेकिङ नै गर्छु भनेर नेपाल फर्किको थिएँ ।’
 
उनी अगाडि थप्छन्, ‘जब ‘जय भोले’ मा सहायक निर्देशक भएर काम गरेँ तब निर्देशक बन्न अनुभव पनि चाहिने रहेछ भन्ने बुझेँ । तर, त्यसका लागि मसँग प्रयोगात्मक ज्ञान थिएन । तर, क्षेत्र नै यही रोजेपछि कुनै न कुनै विधाबाट सुरु गर्नुपर्छ भन्ने लागेपछि अभिनय रोजेँ ।’ उनी अब आफूलाई अभिनयमा नै अगाडि बढाउने बताउँछन् । भविष्यमा फिल्म निर्देशन गर्ने सोचमा पनि छन्, उनी । 
Most Visited News (monthly)