इमेज च्यानलले विगत दुई दशकदेखि प्रत्येक वर्ष निरन्तर रुपमा आयोजना गर्दै आएको ‘टुबोर्ग इमेज अवार्ड’ को २१औं संस्करणमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट ठहरिएका छन् । फिल्म ‘गोपी’ बाट विपिनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा स्वस्तिमा ‘बुलबुल’ बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । तर, अवार्ड कार्यक्रममा दुबै अनुपस्थित थिए ।
अहिले स्वस्तिमा होलिडे मनाउन म्यानमारमा छिन् । भने, विपिन फिल्म ‘सेल्फी किङ’ को छायांकनका लागि सोलुखुम्बुमा छन् । यसअघि ‘सार्क फिल्म फेस्टिवल’ र ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा पनि स्वस्तिमाले ‘बुलबुल’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी थिइन् । उनले ‘इमेज अवार्ड’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकोमा फेसबुकमार्फत् खुसी व्यक्त गरेकी छन् ।

त्यस्तै, कार्यक्रममा सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्रदीप भट्टराईले उचालेका छन् । उनले ‘जात्रै जात्रा’ बाट अवार्ड जितेका हुन् । यो फिल्ममा उनको निर्देशकिय क्षमताको निकै प्रशंसा भएको थियो । यस वर्षको ब्लकबस्टर फिल्म साबित भएको यो फिल्मले ‘इमेज अवार्ड’ मा सर्वोत्कृष्ट फिल्मको अवार्ड समेत जितेको छ । निर्माण टिमले फिल्मले अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गरेको छ ।
‘सर्वोत्कृष्ट फिल्म गीत’ तर्फको अवार्ड फिल्म ‘दाल भात तरकारी’ को ‘भिजिट भिसा’ बोलको गीतले प्राप्त गर्न सफल भएको छ । काठमाडौंको होटल सोल्टीमा भएको कार्यक्रममा नेपाली गीत, फिल्म, म्यूजिक भिडियो एवं ‘सिंगल ट्रयाक’ हरु मध्येबाट २२ विधामा स्रस्टाहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सांगीतिक क्षेत्रका व्यक्तिहरुको अवार्डमा बाक्लो उपस्थिति रहेको थियो ।

