रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दुई दिनमा बक्सअफिसमा ऐतिहासिक कमाई गरेको छ । जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको यो फिल्मले पहिलो दिन १ करोड ४७ लाख कमाउँदै यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्यो भने बक्सअफिसमा पहिलो दिन यो अंक जोड्ने पहिलो नेपाली फिल्म समेत बनेको छ । यसअघि ‘छक्का पञ्जा ३’ ले पहिलो दिन १ करोड १५ लाख छापेर रेकर्ड राखेको थियो ।
दोस्रो दिन (शनिबार) पनि ‘कबड्डी कबड्डी कबड्डी’ प्रति दर्शकको क्रेज उस्तै जबरजस्त देखियो । वितरक कम्पनी ‘स्टेशन फाइभ’ ले फेसबुकमार्फत् दिएको जानकारी अनुसार, फिल्मले शुक्रबारको तुलानामा शनिबार ३१ लाख बढी व्यापार गरेको छ । अर्थात्, फिल्मको शनिबारे व्यापार १ करोड ७८ लाख छ । फिल्मको दुई दिने कलेक्सन ‘प्लस’ गर्ने हो भने ३ करोड २५ लाख हुन्छ । जुन यसअघि कुनै फिल्मले बक्सअफिसमा दुई दिनमा यो अंक जोड्न सकेका थिएनन् ।
.jpg)
वितरक कम्पनी ‘स्टेशन फाइभ’ ले फिल्मको दुई दिने कलेक्सन ऐतिहासिक रहेको दाबी गरेको छ । मल्टीप्लेक्सले बढाएको सोजका कारण शुक्रबारको तुलानामा शनिबार फिल्मको व्यापार बढेको हो । फिल्मको कलेक्सन एकलभन्दा मल्टीप्लेक्समा उछाल छ । सिंगल डे कलेक्सनमा रेकर्ड कायम गरेको फिल्मले आइतबार पनि दर्शकको राम्रो साथ पाएको वितरकले बताएका छन् । फिल्मको आइफटाइम कलेक्सन १० करोड ग्रस हुने अनुमान गरिएको छ ।
ब्रान्ड बनेको सिरिज र नाम चलेका कलाकारहरुको अभिनय रहेका कारण इनिसियल बक्सअफिस आक्रामक रहेको ‘कबड्डी कबड्डी कबड्डी’ लाई दर्शकले राम्रो रहेको प्रतिक्रिया दिए पनि समीक्षकले भने खासै रुचाएका छैनन् । हुनत, नेपालको सन्दर्भमा दर्शक र समीक्षकको मनोविज्ञान अहिलेसम्म मेल खान सकेको छैन । समीक्षकले वाहवाही गरेको फिल्म दर्शकले रिजेक्ट गरेको अवस्था छ भने दर्शकले मनपराएका फिल्म समीक्षकले प्रशंसा गरेका उदाहरण कम छन् ।
फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई पर्दामा उतारेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यो फिल्मले नजिकिँदै गरेको दशैं विदाको फाइदा पनि उठाउने अनुमान फिल्म पण्डितहरुको छ ।

