नेपालको सन्दर्भमा फिल्म बनाउन सजिलो छ । तर, प्रदर्शन गर्न महाभारतको लडाईं लड्नुपर्छ । विदेशी फिल्म आउँदा निर्माताहरु डरले कुना पस्छन् तर स्वदेशी फिल्मसँग भिड्दा भने गर्व महशुस गर्छन् । त्यसमाथि वितरक र हल सञ्चालकले नेपाली फिल्मलाई गर्ने ज्याजती झन् उस्तै दर्दनाक छ । वितरक र हल सञ्चालकले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने प्रवृतिका कारण वर्षौदेखि फिल्म निर्माताहरु रुनु न हाँस्नुको अवस्थाबाट गुज्रिरहेका छन् ।
राजनीति गर्न खेलाडी मानिने जब्बर निर्माता दीपकराज गिरी समेत नेपाली फिल्ममा हुने राजनीतिबाट आजित भइसकेका रहेछन् । यसपटक उनलाई आफ्नो टिमको नयाँ फिल्म ‘छ माया छपक्कै’ का लागि प्रदर्शन मिति मिलाउन कम संघर्ष गर्नुपरेन । भदौ २७, असोज ३, असोज १० र असोज १७ मध्ये एक मितिमा फिल्म ल्याउने तयारीमा थिए, उनी । तर, कुनै मितिमा ठूलो नेपाली फिल्म त कुनै मितिमा बलिउड फिल्मले गर्दा यसपटक उनी दशैं विदा छाडेर असोज २४ मा पुगेका छन् ।
यो फिल्म दशैंमा प्रदर्शन हुन नसक्नुमा ‘रातो टिका निधारमा’ का निर्माता तथा निर्देशक अशोक शर्माको ठूलो हात रहेकोे फिल्मवृतमा चर्चा छ । गत वर्ष निर्देशक शर्मा र निर्माता गिरीले मिलेर दशैैं विदा खाएका थिए । तर, यसपटक निर्देशक शर्माले असोज ३ मा ‘कबड्डी कबड्डी कबड्डी’ ल्याएर असोज १० मा आफ्नो फिल्म प्रदर्शन गर्ने घोषणा गरे । जसकारण ‘छ माया छपक्कै’ ले दशैं विदा छाड्न बाध्य भयो । अब यो फिल्म दशैं सकिएपछि प्रदर्शन हुनेछ ।
शुक्रबार यो फिल्मको ट्रेलर रिलिज कार्यक्रममा दीपकराजमाथि पत्रकारले प्रश्न गरे- ‘अशोक शर्माका कारण फिल्म असोज २४ मा पुगेको स्वीकार गर्नुहुन्छ ?’ उनले निर्देशक शर्मालाई कटाक्ष गर्दै जवाफ दिए, ‘यसपटक म अलि भावनात्मक भएँ । किनकि, उहाँ (अशोक शर्मा) ले छोरालाई फिल्ममा डेब्यू गराउनुभएको छ । उहाँलाई शुभकामना छ । छोरा बोकेर आएका माता र पितासँग के झगडा गर्नु भनेर म नै पछाडि सरेँ । उहाँको छोराको भविष्य राम्रो होस् ।’
.jpg)
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा केही आक्रोशित मुद्रामा देखिएका उनले नेपालमा फिल्म बनाउनभन्दा प्रदर्शन गर्न निकै पापड बेग्नु पर्ने तीतो यथार्थ पनि सुनाए । गत वर्ष ‘छक्का पञ्जा ३’ प्रदर्शनको एक हप्तामा ‘जय भोले’ आउँदा व्यापारमा परेको असर स्मरण गर्दै उनले भने, ‘गत वर्ष हाम्रो फिल्मले राम्रो व्यापार गर्दागर्दै पनि फिल्म ‘क्ल्यास’ हुँदा धेरै शो गुमाउनु परेको थियो । वर्षमा एउटा फिल्म बनाउने निरीह निर्माताले यस विरुद्ध लड्न सक्दैन ।’
हिन्दी फिल्म ‘वार’ सँग डराएर उनले ‘छ माया छपक्कै’ लाई असोज २४ मा प्रदर्शन गर्न लागेको भन्दै चर्कै रुपमा टिका-टिप्पणी भइरहेको छ । उनले यस विषयमा पनि आफ्नो भनाई राखे । उनले भने, ‘मलाई नेपाली र हिन्दी फिल्मसँग डर लाग्दैन । मलाई फिल्मको राजनीति गर्ने मान्छेसँग डर लाग्छ ।’ उनले आफ्नो भनाई पूरा गर्न नपाउँदै पत्रकारले प्रश्न गरे- ‘तपाईं पनि राजनीति गर्न सिपालु खेलाडी होइन र ?’ उनले जवाफमा भने, ‘म प्रति रक्षात्मक राजनीति गर्छु ।’
दीपकराजले अहिले नेपाली फिल्ममा एउटा क्रान्तिको आवश्यकता रहेको र त्यो दिन आउन ढिलो नभएको बताए । ‘फिल्म बनाएर हलसम्म ल्याउन कति गाह्रो हुन्छ भन्ने सबै निर्माताले बुझेका छन् । तर, कोही बोल्न सकेका छैनन् । म बारम्बार हिन्दी फिल्मको विरुद्ध बोलिरहेको छु । मलाई धेरैले यसले किन हिन्दी फिल्मको विरोध गर्छ, आफ्नो फिल्म चलाएर गए भइहाल्यो नी भन्ने गरेका छन् । इन्डस्ट्री खत्तम हुने नै चुप लागेर हो । त्यसैले म बोल्छु’, उनी केही आक्रोशित देखिए ।
आफ्नो फिल्म चलाएर खुरुखुरु घर जाने निर्माताकै कारण फिल्म इन्डस्ट्री विग्रिएको उनको जिकिर छ । आफू नेपालमा हिन्दी फिल्मको बढ्दो आक्रमणकोे विरुद्धमा सधैं आवाज उठाउने बताउँदै उनले अगाडि भने, ‘म हिन्दी फिल्मको विरुद्धमा आवाज उठाउन छाड्दिनँ । बरु, यो क्षेत्र छाडेर घर जान तयार छु तर बोल्न छाड्दिनँ । नेपाली फिल्म र हिन्दी फिल्मलाई समान हैसियत दिइन्छ भने म नेपालमा छु कि भारतको मजफपुरमा छु भन्नेमा सोच्न बाध्य हुन्छु ।’
निर्माता गिरीले नेपाली फिल्म क्षेत्रमा छिट्टै गोविन्द केसी जन्मिने पनि बताए । आक्रोशित मुद्रामा उनले भने, ‘हिन्दी फिल्मको विरुद्धमा बोल्दा मलाई यसरी नै हेपिन्छ र पेलिन्छ भने छिट्टै नेपाली फिल्म क्षेत्रमा गोविन्द केसीको जन्म हुनेवाला छ । तपाईंहरु सबै आउनुहोला ।’ ‘तपाईं अनशन बस्न लाग्नुभएको हो ?’ पत्रकारको प्रश्नमा उनले भने, ‘अहिलेको अवस्था हेर्दा त्यस्तै देखिन्छ । हिन्दी फिल्मको विरुद्धमा बोल्दा मलाई यसरी नै पेलिन्छ भने त्यो दिन आउनसक्छ ।’

